
काठमाडौं, २३ असार
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अनुमतिबेगर सेन्टर फर मलिकुलर डायनामिक्सले ढलमा कोरोना भाइरस भेटिएको विषय सार्वजनिक गरेको छ । अनुसन्धान र परीक्षणका लागि अनुमति नै नलिई ढलमा कोरोना भाइरस भेटिएको विषय सार्वजनिक भएको छ ।
परिषद्का अनुसन्धान प्रमुख डा. मेघनाथ धिमालले भने, ‘हामीसँग अनुसन्धानका लागि अनुमति लिएको देखिँदैन । तर, महामारीको बेला स्वास्थ्य क्षेत्र पनि जोडिएका कारण सरकारी निकायसँग समन्वय गरेको भए अनुसन्धानले अझ आधिकारिकता पाउँथ्यो ।’ उनले मानव स्वास्थ्यसँग सम्बन्धित अनुसन्धान कार्य गर्दा परिषद्को पूर्वस्वीकृति लिनुपर्ने प्रावधान रहेको बताए ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद् ऐन, २०४७ को दफा ११ बमोजिम कुनै पनि मानव स्वास्थ्यसँग सम्बन्धित अनुसन्धान कार्य गर्दा परिषद्को पूर्वस्वीकृति लिनुपर्ने उल्लेख छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राजधानीको ढलको नमुना लिएर परीक्षण गर्दा कोरोना भाइरस देखिएको विषयमा ध्यानाकर्षण भएको जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ढलमा देखिएको भाइरसको टुक्राटुक्री भेटिएको देखिए पनि रोग सार्ने प्रकृतिको हुँदैन । उनले भने, ‘ढलको पानीमा कोरोना भाइरस पहिचान भएपनि यसको माध्यमबाट कोरोना भाइरस सर्दैन । तर, ढलको पानीको उचित प्रशोधन भने हुनैपर्छ ।’
सिएमडिएन नामक संस्थाले गरेको अनुसन्धानबाट काठमाडौं उपत्यकाभित्रको ढलमा कोरोना भाइरस (सार्स–२) भेटिएको हो । काठमाडौं उपत्यकाका चार ठाउँबाट ढलको नमुना संकलन गरेर अनुसन्धान गर्दा दुई ठाउँमा कोरोना भाइरसको जीवाणु फेला परेको सिएमडिएनका संस्थापक तथा अनुसन्धानकर्ता डा. दिवेश कमाचार्यले बताए ।
अनुसन्धानकर्ता कमाचार्यले अनुमति लिएर अनुसन्धान कार्य अघि बढाइएको बताए । उनले भने, ‘हामीले लामो समयदेखि परिषद्सँगको अनुमतिमा वातावरण निगरानीसँग सम्बन्धित अनुसन्धान गर्दै आएका छौं । यो पाइलट प्रोजेक्ट हो ।’
आजको राजधानी दैनिकबाट









