थपिए कोरोनाका लक्षण

काठमाडौं, १३ असार ।
हाम्रो देशमा कोभिड–१९ संक्रमण भए, नभएको जाँच्न ज्वरो नापिन्थ्यो । सास फेर्न गाह्रो भए, नभएको पहिल्याइन्थ्यो । र, रुघाखोकी हेरिन्थ्यो । यसको उपचारमा निरन्तर खटिएका चिकित्सक र विशेषज्ञले उक्त रोगको लक्षण थपिँदै गएको पाएका छन् ।

कोरोना संक्रमितको मुख्य रूपमा उपचार गरिरहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक डा. सागरकुमार राजभण्डारीका अनुसार नयाँ लक्षणका कारण चिकित्सकमा चुनौती थपिँदै गएको छ । ‘पहिला भन्ने गरिएको खोकी लाग्ने, निमोनिया हुने, ज्वरो आउनेभन्दा पनि थप लक्षण पाइएका छन्’, उनले भने, ‘सुन्ने शक्तिमा ह्रास आउने, खास वस्तुको स्वाद नपाउने, पेट र टाउको दुख्ने लक्षण देखा परेका छन् । जीउ दुख्ने, एकदम थकाइ महसुस हुने लक्षण पनि देखिएका छन् ।’

पुष्टि भएका संक्रमितका लक्षण फरकफरक देखिएपछि स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले ‘क्लिनिकल’ विश्लेषण गर्न थालेको छ । महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेका अनुसार कोरोना संक्रमित रहेका सबै अस्पतालमा लक्षणसमेत उल्लेख गर्ने गरी फारम पठाइएको छ । त्यो विवरणका आधारमा नयाँ साझा लक्षण पछि सार्वजनिक गर्ने महाशाखाको योजना छ ।

मधुमेह, उच्च रक्तचाप, क्यान्सर, मिर्गौलालगायत दीर्घ रोगका बिरामीमा कोरोना देखिए उपचार गर्दा विशेष सावधानी अपनाउनुपर्ने डा. राजभण्डारीले बताए । उनका अनुसार विदेशमा उपचार गर्दा प्रयोग गरिएका औषधि नेपालमा प्रयोग गरिएको छैन । ‘लक्षणका आधारमा वर्गीकरण गरेर उपचार गर्ने गरिएको छ’, उनले भने ।

उनले ज्वरो मात्र आएका बिरामीलाई प्यारासिटामोल दिने गरिएको बताए । निमोनियाका लक्षण देखिएका संक्रमितको एक्सरे र सिटिस्क्यानसमेत गरिन्छ । अक्सिजनको सहारामा उपचार गर्ने बिरामीलाई विशेष निगरानीमा राखिन्छ। सास फेर्न गाह्रो हुनेलाई सघन उपचार कक्ष (आईसीयू)मा उपचार गरिन्छ। ती सबैको आत्मबल बढाउन मनोसामाजिक परामर्श र आहारव्यवहारमा ध्यान दिने गरिएको उनले सुनाए ।

नयाँ लक्षण के-के देखा परे भन्ने सम्बन्धमा सबै अस्पतालले फारम भरेर पठाएपछि थाहा हुने डा. पाण्डेले बताए । ‘कोरोना संक्रमणकै कारण स्वादमा कमी आउने, श्रवण शक्तिमा ह्रास आउने हो वा अन्य कारण हुन् भन्नेबारे सबै अस्पतालले लक्षणसहितको फारम पठाएपछि खुल्नेछ’, उनले भने ।
अन्नपूर्ण पोस्टमा खबर छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here