काठमाडौं, १० असार ।
सीमा सन्धिअनुसार सन् १९६१ मा नेपाल-चीन सीमांकन भयो । त्यसमा केही जमिन लेनदेन गरियो । ‘असल छिमेकी’ भन्दै चीनले सट्टामा नेपाललाई ३०२.७५ वर्गकिलोमिटर बढ्ता जमिन दियो ।

तर, सीमा र भूगोलविद्हरू भन्छन्, ‘नेपालले प्राप्त गरेका भूभाग पहाडी, चट्टान, हिँउले ढाकेको भाग, बन्जर थिए । ती कुनै काममा उपयोगमा छैनन् । जब कि नेपालका तर्फका चीनले राम्रा बस्ती, खर्क, चरिचरन, धार्मिक एवं पुरातात्विक महत्वका स्थल प्राप्त गरेको थियो ।’

समानता, आपसी हित, मित्रता तथा सदभावलगायत १२ सिद्धान्तका आधारमा नेपाल-चीन सीमांकन गरिएको थियो । भोगचलन, लेनदेन, इलाका सुम्पने विज्ञानका आधारमा त्यसमा केही भाग सट्टापट्टा गरिएको थियो ।

सीमाविद बुद्धिनारायण श्रेष्ठका अनुसार हुम्ला, डोल्पा, मुस्ताङ, मनाङ, गोरखा, रसुवा, दोलखा, सोलुखुम्बु, संखुवासभा र ताप्लेजुङमा गरी २ हजार १३९ वर्गकिलोमिटर चीनबाट नेपालतर्फ भूमि आएको थियो। दार्चुला, बझाङ, हुम्ला, मुगु, डोल्पा, मुस्ताङ, गोरखा, रसुवा, सिन्धुपालचोक, दोलखा, सोलुखुम्बु, संखुवासभा र ताप्लेजुङका गरी १ हजार ८ सय ३६ दशमलव २५ वर्गकिलोमिटर नेपाली भूभाग चीनतर्फ गएको थियो ।

श्रेष्ठको ‘नेपालको सीमा’ पुस्तकका अनुसार नक्सामा अंकित समान रेखालाई मान्ने, त्यस्तो समान रेखा नभएकामा अधिकारको स्थितिालाई कायम गर्ने, दुवै नभएको अवस्थामा संयुक्त सर्भेक्षण दल पठाउने सिंद्धान्त अपनाइएको थियो । पानी ढलो, प्राकृतिक वस्तु, बीच नदी, भोगचलन, लेनदेन जस्ता सिद्धान्त यसमा अपनाइएको थियो । अर्को पक्षतिर परेको इलाका सुम्पने, सुम्पिएको जमिनको बासिन्दाले नागरिकता रोज्न पाउने, बसाइ सरेको बासिन्दाले अचल सम्पत्ति बेच्नु पर्ने, समानता, आपसी हित, मित्रता तथा आपसी सदभावको सिद्धान्त अपनाइएको थियो ।

संखुवासभाको किमाथाङका पारीको नादाङ गाउँ, सोलुखुम्बुको नाङपा भन्ज्याङ, डोल्पाको सानाला भन्ज्याङ र अर्को एउटा भन्ज्याङ, बझाङको खोजर नाथ (टिंकरपारीको गाउँ), गोरखाको लार्के बजार, रसुवाको केरुङ, कोदारीलगायत नेपाली गाउँ चीनतिर परेका थिए । ती गाउँमा अझै पनि नेपाली भाषा पनि बोलिन्छ ।

सीमाविद पुण्यप्रसाद ओलीले सिन्द्धान्तत: पानीढलो सीमा हुनु पर्नेमा देउराली (भन्ज्याङ) लाई सीमा मानिएका कारण कतिपय गाउँ नेपालले गुमाएको बताए । ‘सीमास्तम्भ पानीढलोमा हुन पर्ने, देउराली जहाँ छ, त्यही गाडियो,’ उनले भने, ‘त्यही भएर धेरै ठाउँमा नेपाली भूभाग चीनतिर परे । भन्ज्याङ पानी ढलोभन्दा अधिकांश स्थानमा तलै हुन्छ ।’

उनका अनुसार अंग्रेजको आक्रमणको डर, उत्तरी सीमामा भारतीय सेनाको उपस्थिति र कही कही नेपाली प्राविधिक चीनसँग मिलेर धोका दिदाँ उत्तरका राम्रा गाउँ गुमाउनु परेको हो । नेपालमा अंग्रेजले आक्रमण गर्ने डरमा तिब्बतसँग सन १७९३-९५ तिर भएको सम्झौतामा पनि नेपाली भूभाग गुमाइएको छ ।
आजको अन्नपूर्ण पोष्टबाट

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here