
पर्वत, १ असार ।
दिनभरी घर तथा खेतवारीमा काम गरेर फर्किएका यहाँका एक गाउँका ९ जना बासिन्दा पहिरोले सखाप बनाएको छ । शनिबार साँझ ७ बजेतिरको समय हो । मेलापातबाट फर्किएर घरमा खाना बनाउने र खाने चटारोमा थिए दुवै परिवार ।
त्यतिकैमा ठूलो गर्जनसहित वर्षा भयो। दिनभर कामकाज गरेका उनीहरु खाना बनाउन र खानका लागि व्यस्त बनिरहेका थिए । बालबच्चा मोवाइल टिभीमा व्यस्त थिए। यत्तिकैमा घरमाथि रहेको जंगलबाट पहिरो आएर दुबै घर छोप्यो र ९ जनालाई कहिल्यै नफर्कने गरी लग्यो ।
घटना शनिबार रातिको हो । पर्वतको कुश्मा नगरपालिका वडा नम्बर ३ दुर्लुङको काहुलेमा बस्ती भन्दा माथिबाट आएको पहिरोले पुरिएर दुई घरपरिवारका आठ जनाको शव भेटिएको छ भने एकजना बेपत्ता छन् । स्थानीय तुलबहादुर थापाको परिवारका ६ जना र विकास विकको परिवारका तीन जनालाई पुरेको हो ।
पहिरोले पुरिनेमा ५३ वर्षीय तुलबहादुर थापा, उनकी श्रीमती ५२ वर्षीय मिनकुमारी थापा, नातिनी ८ वर्षीया बिबिसा र नाती १४ वर्षीय सम्राट थापा, तुलबहादुरकी विवाहित छोरी ३४ वर्षीय दिपा थापा र दिपाका छोरा १७ वर्षीय विवेक थापाको मृत्यु भएको छ ।
त्यसैगरी विकास विककी श्रीमती ३२ वर्षीया कमला बिक तथा उनकी छोरी ८ वर्षीया प्रमिशा बिकको मृत्यु भएको छ । १३ वर्षीय जेनिस बिकको भने शव भेटिएको छैन । खोजी कार्य जारी रहेको छ।
तुलबहादुरका छोरा अम्मर थापा र बुहारी रिमाया थापा भने ज्यान जोगाउन सफल भएका छन् । उनीहरु घरदेखि झण्डै पाँच सय मिटर परको डाँडामा पसल संचालन गर्दै आएका थिए । उनीहरु पसलमै रहेका कारण ज्यान जोगिएको स्थानीय ऋषिराम पौडेलले जानकारी दिए ।
‘हामी पसलमै भएकाले बाच्न सफल भयौँ । न बाबुआमाको मुख देख्न र पानी खुवाउन पायौँ, न आफैँले जन्माएका दुई सन्तान सम्राट र विविशालाई नै’, उनले भने, ‘छोराछोरी र बाबुआमा गुमाएर यो संसारमा बाँच्नुको कुनै अर्थ रहेन ।’
यता कमला विकका श्रीमान विकास विक भने रोजगारीका लागि साउदीमा छन् । उनी लकडाउन खुले लगत्तै स्वदेश फर्किने तयारीमा थिए। दिनभरी स्थानीय रामप्रसाद रेग्मीको खेतमा धान रोप्न गएकी उनी साँझ घर फर्किएर थकाई मार्न नपाउँदै पहिरोमा पुरिएकी हुन् ।
परिवारका तीनैजनाको मृत्युपछि साउदीमा रहेका विकास भावविह्ल बनेका छन् । कोरोना भाइरसका कारण उनी फर्किन सक्ने सम्भावना छैन ।
तुलबहादुरी छोरी दिपाको घर बागलुङको जैमिनी नगरपालिका–१ पैंयुथन्थाप हो । उनी कुश्माबजारमा छोरा पढाएर बस्दै आएपनि छोराको एसईई परीक्षा अन्योल र लामो समयको लकडाउनका कारण माइतीमा गएर बसेकी थिइन् ।
उनका श्रीमान समेत रोजगारीका लागि खाडी मुलुक साउदीमा रहेका छन् । आमाछोराको मृत्युपछि उनीहरुको घर पैँयुथन्थाप शोकमा छ ।
पहिरो गएलगत्तै कुश्माबाट पुगेको सुरक्षाकर्मी र स्थानीयको सक्रियतामा राति १ बजेसम्म तीन र बाँकी ५ शव बिहान निकालिएको हो । जेनिश विकको भने खोजी भैरहेको पर्वतका प्रहरी प्रमुख विश्वराज अधिकारीले बताए । उनले भने–‘खोजीकार्य अझै जारी छ ।’
मृतकको शव दिनभरी स्थानीय स्वास्थ्य चौकीमा राखेर साँझ पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा ल्याइएको छ । पोष्टमार्टम सकिएपछि सोमबार सामुहिक दाहसंकार गरिने स्थानीय प्रभु गुरुङले जानकारी दिए ।
बस्ती आसपासमा रहेका झण्डै आधा दर्जन घर जोखिममा परेका छन् । उनीहरुलाई सुरक्षित स्थानमा बस्न प्रशासनले आग्रह गरेको छ ।
अन्नपूर्ण पोस्टमा खबर छ ।









