आइसोलेसनबाट संक्रमित भागे, क्वारेन्टाइनमा सर्पले टोक्यो

बाँके, २८ जेठ ।
बाँकेको जानकी गाउँपालिकाको आइसोलेसनबाट १ जना कोरोना संक्रमित भागेका छन् । क्वारेन्टाइनमा एक जनालाई सर्पले टोकेको छ । जानकी गाउँपालिका-२ जोगागाउँको श्रीमाध्यमिक विद्यालयको आइसोलेसनबाट मंगलबार बिहानै शौचालय जाने बाहानामा ३५ वर्षीय संक्रमित भागेका हुन् ।

जानकीको आइसोलेसनमा राखिए पनि उनको घर भने नेपालगन्ज उपमहानगरपालिका-१२ हो । आइसोलेसनमा कार्यरत जनस्वास्थ्य निरीक्षक श्यामलाल बेल्वासेका अनुसार शौचालय जाने बाहानामा संक्रमित भागेका थिए । आइसोलेसनको पूर्वमा ठूलो फलामे ढोका र पश्चिम र उत्तरमा भवन बनाइएको छ। निर्माणाधीन भवनको दक्षिणतर्फ भने डोरीको मात्र बार लगाइएको छ । संक्रमितले भाग्नलाई त्यही बाटो प्रयोग गरेको हुनसक्ने स्वास्थ्यकर्मी र सुरक्षाकर्मी बताउँछन् ।

आइसोलेसनबाट संक्रमित भागेको खबर मंगलबार बिहान ४ बजेतिर पाउने बित्तिकै उनको घरसम्म पुगेर खोजी गर्दा नभेटेको जानकी गाउँपालिका १ का वडाध्यक्ष मोहम्मद रजा राइले बताए । प्रहरीले दिनभर खोजी गर्दा पनि फेला पार्न सकेको छैन । भारतको नानपारा ससुराली भएका ती युवा त्यतैतिर भागेको आशंका गरिएको छ ।

यसैबीच, जानकी गाउँपालिका-१ बढैयाको नेपाल राष्ट्रिय प्राथमिक विद्यालयको क्वारेन्टाइनमा बसेका सुन्दरलाल काँदुलाई सर्पले टोकेको छ । वडा नं. १ का वडाध्यक्ष मो.रजा राइका अनुसार सोमबार राति साढे १० बजेतिर सुतिरहेको बेला उनलाई गोमन सर्पले टोकेको हो ।

सयममै एम्बुलेन्स नआएपछि मंगलबार बिहान ८ बजेतिर मात्र उपचारका लागि भेरी अस्पतालमा पठाइएको उनले बताए । सर्पलाई क्वारेन्टाइनमा बसेका अन्य युवाले मारेका थिए ।
आजको अन्नपूर्ण पोष्टबाट

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here