
काठमाडाैं, १७ जेठ ।
कोरोना संक्रमितलाई आइसोलेसनमा राख्ने विषयमा विवाद हुँदा शुक्रबार रौतहटको ईशनाथ नगरपालिका–७ जोकाहमा प्रहरी र स्थानीयबीच झडप भएको छ । झडप नियन्त्रणमा लिन प्रहरीले केही राउन्ड हवाई फायरसमेत गरेको छ ।
स्थानीय अनावारुल इस्लामिक मदरसामा रहेका दुईजना कोरोना संक्रमितलाई आइसोलेसन राख्न सदरमुकामस्थित मध्यक्षेत्रीय प्रहरी आवासीय विद्यालय गरुडामा लैजान खोज्दा स्थानीय बासिन्दाले विरोध गरेका थिए । नगरपालिकाभित्रै आइसोलेसन कक्ष बनाएर राख्न माग गर्दै उनीहरूले प्रहरी र स्वास्थ्यकर्मीलाई अवरोध गरेका थिए । प्रहरीले बल प्रयोग गरेपछि झडपको स्थिति बनेको थियो ।
स्थानीय बासिन्दाले प्रहरीको गाडी तोडफोड गरेका छन् । स्थानीयले ढुंगा हान्न थालेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र हवाई फायर गर्नुपरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
संक्रमितलाई आइसोलेसनमा ल्याउन लाग्दा स्थानीयले अवरोध गरेपछि झडप भएको ईशनाथ नगरपालिकाका मेयर सन्तोष मेहताले बताए । संक्रमित रहेको स्थानबाट आइसोलेसन कक्ष करिब २५ किलोमिटर टाढा छ ।
नयाँ पत्रिकामा खबर छ ।









