नेपाल प्रवेश गर्दै शक्तिशाली अम्पुन चक्रवात, भारी बर्षा र हिमपातको समेत संभावना

काठमाडौं, ६ जेठ ।
बङ्गालको खाडीबाट अम्पुन नामको शक्तिशाली चक्रवात नेपाल आउँदैछ । यतिबेला दक्षिण बङ्गालको खाडीको मध्य भागमा अम्पुन चक्रवातले आफ्नो शक्ति बटुलेर अघि बढेको छ । अम्पुन चक्रवात धेरै शक्तिशाली भइसकेकाले त्यसको असर नेपालमा केही दिन तीव्र रूपमा पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

चक्रवात अझ शक्तिशाली हुने क्रममा मङ्गलबारबाट पूर्वी नेपालको मौसममा बदली हुँदै नेपाल प्रवेश गर्ने महाशाखाकी मौसमविद् गङ्गा नगरकोटीले बताइन् । उनका अनुसार त्यस चक्रवातको गति उत्तरपश्चिम हुँदै अघि बढिरहेको छ ।

उनले भारतको पश्चिम बङ्गाल क्षेत्र हुँदै पूर्वी नेपालको पहाडी भूभागमा असर पार्ने बताइन् । त्यसले मध्य र पूर्वी नेपालका भूभागमा पनि असर पार्ने मौसमविद् नगरकोटीले बताइन् ।  पश्चिम भूभागमा भने त्यसको तुलनामा कम वर्षा हुनेछ । त्यसपछिको २/३ दिनसम्म देशैभरि बदली भई केही स्थानमा भारी वर्षाका साथै उच्च हिमाली क्षेत्रमा हल्कादेखि मध्यम हिमपातका साथै १/२ स्थानमा भारी हिमपातसमेत हुने सम्भावना छ ।

यस चक्रवातले भुइँ छोएपछि भने यसको असर न्यून हुँदै जाने मौसमविद् प्रतिभा मानन्धरले बताइन् । बङ्गालको खाडीबाट आउँदै गर्दा पूर्वी नेपालको उच्च पहाडमा ठोक्किँदै यो मध्य नेपालमा झर्ने छ । उनका अनुसार अम्पुन चक्रवात भारतको उडिसा हुँदै प्रतिघण्टा १३ किलोमिटरको गतिमा उत्तरपश्चिमको बाटोमा अघि बढ्दै छ । उनले मङ्गलबार यसको गति १८० किलोमिटर प्रतिघण्टासम्म पुग्न सक्ने बताइन् । भारतीय क्षेत्रमा यस चक्रवातको क्षति रोक्न पूर्व तयारी थालिएको छ । जसका लागि पश्चिम बङ्गालमा सात र उडिसामा १० वटा रक्षा टोली परिचालन भइसकेका छन् ।

पूर्व मनसुन जाँदै गर्दाको अवस्थामा नेपाल छिर्ने यस चक्रवातले अन्य मौसम प्रणालीलाई समेत सक्रिय बनाउन सक्ने मौसमविद्को अनुमान छ । जसले नेपालमा मनसुन भित्र्याउने आवश्यक वातावरण बनाउने छ । यो सँगै आउने हावाहुरी असिनापानीले जनजीवनमा थप असर गर्न सक्ने भएकाले सतर्क रहन भनिएको छ ।

पूर्वी पहाडी भेग हुँदै आउने भएकाले विशेषगरी पूर्वी तथा मध्य पहाडी भेगका बासिन्दाले बढी सचेत रहनुपर्ने सुुझाव मौसमविद्को छ ।
आजको गोरखापत्र दैनिकबाट

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here