
काठमाडौं, २ जेठ
३० वैशाख महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएकी बालिकामा कोरोना भाइरस पोजिटिभ भेटियो । ६ वर्षीया ती बालिकामा कोरोना भाइरस संक्रमणको पुष्टि भएसँगै अस्पतालका चिकित्सकलगायत ३६ जनाभन्दा बढी स्वास्थ्यकर्मी क्वारेन्टाइनमा बसेका छन् । अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. प्रेमकृष्ण खड्गाका अनुसार, ती बालिकालाई गणेशमान भवनमा सारी आइसोलेसन क्याबिनमा उपचार भइरहेको छ ।
कपिलवस्तुकी ती बालिकाको सम्पर्कमा आएका सबैको स्वाब (पीसीआर) परीक्षण गरिने भएको छ । कपिलवस्तुकी ती बालिकामा घाँटी दुखेको समस्या लिएर आएको उपचारमा संलग्न एक चिकित्सकले बताए ।
गत २९ वैशाखमा सुनसरीको झुम्काबाट भक्तपुर आएकी युवतीमा कोरोनाको संक्रमण पाइयो । आरोग्य फाउन्डेसनमा कार्यरत ती युवतीको सम्पर्कमा आएका सबैलाई क्वारेन्टाइनमा राखिएको छ ।
२९ वैशाखमै कन्चनपुरबाट काठमाडौं आएकी काठमाडौं चन्द्रागिरिकी महिलाको स्वाब परीक्षणमा कोरोना भाइरस पोजेटिभ पाइयो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार बिहीबार काठमाडौंका ३२ वर्षीय युवामा पनि कोरोना भाइरस पोजिटिभ पाइएको छ ।
चैत ११ गते सरकारले लकडाउन घोषणा गरे पनि काठमाडौंमा आवागमन रोकिएको छै न। थानकोट, फर्पिङ, जगातीलगायत नाकाबाट छिर्ने क्रम बढेपछि उपत्यकावासी असुरक्षित महसुस गरिरहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पूर्व प्रमुख विशेषज्ञ डा. सुशीलनाथ प्याकुरेल भन्छन्, ‘लकडाउन घोषणा नाम मात्रको छ । पीसीआर परीक्षणको दायरा बढाउने हो भने उपत्यकामै संक्रमितको संख्या बढ्ने निश्चित छ ।’
प्रवक्ता डा. देवकोटाले सबै उमेर समूहका व्यक्तिमा कोरोना संक्रमणको खतरा रहेकाले सचेत रहन आग्रह गरेका छन् । मन्त्रालयद्वारा आयोजित नियमित प्रेस ब्रिफिङमा डा. देवकोटाले सचेत रहन आग्रह गरेका हुन् । ‘संक्रमित धेरैजसो २० देखि ५० वर्ष उमेर समूहका छन् । सबै उमेर समूहका व्यक्तिलाई संक्रमण हुन सक्छ, सबैलाई सचेत र सजग रहन आग्रह गर्दछौँ,’ डा. देवकोटोले भने ।
उनका अनुसार हालसम्म संक्रमितको संख्या २ सय ४६ पुगेको छ । यसमा एक सय ९८ पुरुष, ४८ महिला छन्। संक्रमितमध्ये ३५ जना निको भएपछि घर फर्किसकेका छन् । मन्त्रालयका अनुसार अहिलेसम्म पीसीआर २२ हजार ६ सय ६४ नमुना परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १३ सय ६३ जनाको नमुना संकलन भएको छ। नेपालमा माघ १४ गतेदेखि पीसीआर परीक्षण सुरू गरिएको थियो ।
द्रुत परीक्षण किट आरडीटी विधिबाट अहिलेसम्म ६२ हजार तीन सय २७ नमुना परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा दुई हजार आठ सय आरडीटी परीक्षण गरिएको छ। आरडीटीको परीक्षण चैत १९ गतेबाट सुरु भएको हो । अहिलेसम्म क्वारेन्टाइनमा १५ हजार ६ सय छन् । आइसोलेसनमा उपत्यकामा ६ र उपत्यकाबाहिर २ सय ६६ गरेर कुल २ सय ७२ व्यक्ति छन् ।
कोरोना भाइरस संक्रमणको जोखिम न्यूनीकरण गर्न घोषित लकडाउनको उल्लंघन गर्दै उपत्यका छिर्ने क्रम बढेसँगै संक्रमितको संख्यामा वृद्धि भएको छ । तुलनात्मक सुरक्षित ठानिएको काठमाडौं उपत्यको संक्रमणको चपेटामा परेकाले सजग हुन विज्ञहरूले सुझाएका छन् ।









