काठमाडौं, २३ बैशाख ।
वैदेशिक रोजगारीका क्रममा विभिन्न मुलुकमा रहेका र कोरोना भाइरसका कारण अलपत्र परेका नेपालीलाई प्राथमिकताका आधारमा स्वदेश ल्याउन सरकारले आन्तरिक तयारी गरिरहेको छ ।

नेपाली श्रम रोजगार पत्रकार समूहले सोमबार कोभिड–१९ का कारण विदेशमा अलपत्र श्रमिकको व्यवस्थापनमा सरकारको आगामी योजना विषयमा आयोजना गरेको भर्चुअल अन्तरक्रियामा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले विदेशमा अप्ठ्यारोमा परेका नेपालीको पहिचान गरेर प्राथमिकताका आधारमा स्वदेश ल्याइने बताए ।

परराष्ट्रमन्त्री ज्ञवालीले अन्तर्राष्ट्रिय उडान बन्द रहेकाले उहाँहरूलाई कुन मितिमा ल्याउने भन्न सकिने अवस्था नरहेको स्पष्ट गरे । उनले भने, ‘जहाँसुकै रहेका नेपालीसँग हाम्रो भावनात्मक सम्बन्ध छ, अहिले धेरै कुरालाई योजना बनाएर मात्रै काम गर्नुपर्छ, कसरी फर्काउने र नेपालको श्रम बजारमा उहाँहरूको कसरी व्यवस्थापन गर्ने भन्नेबारे गहन छलफल गरेका छौँ ।’

उनले कोरोना भाइरस सङ्क्रमण नियन्त्रण भई नेपाल सुरक्षित भयो भन्ने अवस्थापछि मात्र फिर्ता ल्याउने काम सुरु गरिने बताए । कुवेतमा मात्रै ७ हजार नेपाली श्रमिक अवैधानिक रूपमा रहेको बताउँदै मन्त्री ज्ञवालीले ती नागरिकलाई स्वदेश फर्काउने विषयमा तयारी भइरहेको जानकारी दिए ।

उनले विभिन्न देशमा रहेका नेपाली दूतावासलाई २४सै घन्टा सम्पर्कमा रहन निर्देशन दिइएको पनि जानकारी गराए ।

मन्त्री ज्ञवालीका अनुसार विदेशबाट तत्काल ३० देखि ३५ हजार नेपालीलाई उद्धार गर्नुपर्ने भयो भने ल्याउनेदेखि सुरक्षित रूपमा क्वारेन्टाइनमा राख्ने र घरसम्म पुर्‍याउने व्यवस्था गर्नुपर्ने हुन्छ । उनले स्वदेश ल्याउनुअघि तयारी गर्न केही समय लाग्नसक्ने बताए ।
आजको गोरखापत्र दैनिकबाट

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here