जेनेभा, २१ बैशाख ।
विश्वव्यापी रुपमा महामारीको रुपमा फैलिएको कोभिड १९ का कारण २ लाख ४० हजार भन्दा धेरैको मृत्यु भइसकेको छ ।

मृतकमध्ये ८५ प्रतिशत युरोप र अमेरिकाबाट छन् । हालसम्मको तथ्यांक अनुसार २ लाख ४० हजार २ सय ३१ को मृत्यु हुनुका साथै संक्रमितको संख्या ३३ लाख ७१ हजार ४ सय ३५ पुगिसकेको छ । र यो क्रम तीव्र रुपमा बढ्दोछ ।

कोरोनाबाट सबैभन्दा बढी प्रभावित क्षेत्र युरोप बनेको छ । जहाँ स्पेन, इटाली, युके, फ्रान्स, जर्मनी लगायत देशमा यसको असर बढी देखिएको छ । युरोपका विभिन्न देशमा गरी १५ लाख १६ हजार ६ सय भन्दा धेरै संक्रमित युरोपका छन् । यस्तै यहाँका विभिन्न देशमा गरी १ लाख ४१ हजार ४ सय ७५ को मृत्यु भएको छ ।

देशको रुपमा सबैभन्दा उच्च मृत्युदर र संक्रमित संख्या अमेरिकामा छ । जहाँ हालसम्म ६५ हजार १ सय ७३ को मृत्यु भइसकेको छ । यस्तै १० लाख बढी संक्रमित छन् । अमेरिकापछि देरै मृत्यु हुनेमा इटालीमा २८ हजार २ सय ३६, बेलायतमा २८ हजार १ सय ३१, स्पेनमा २५ हजार १ सय र फ्रान्समा २४ हजार ५ सय ९४ को मृत्यु भयो ।

पछिल्लो समय रुस र भारतमा संक्रमितको संख्या ह्वात्तै बढ्न थालेको छ । रुस र भारतमा मृत्युदर कम भए पनि संक्रमण तीव्र रुपमा बढेको छ । रुसमा भने एकै दिनमा १० हजार नयाँ संक्रमित थपिएका छन् ।

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ३ सय १ जना पुगेको छ भने संक्रमितको संख्या ३९ हजार ९८० जना पुगेको भारतीय केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ। पछिल्लो तथ्यांक अनुसार भारतमा प्रत्येक घण्टा तीनजनाको मृत्यु भएको छ ।

गत वर्षको डिसेम्बरमा चीनको वुहानबाट सुरु भएको कोभिड १९ ले इटाली, स्पेन हुँदै अमेरिकामा सबैभन्दा धेरै प्रभाव पारेको थियो । पछिल्लो समय युरोप र अमेरिकामा मृत्यु र संक्रमणको तीव्रतामा केही मत्थर भएको छ । बरु रुस र भारत अबको हटस्पट बन्नसक्ने विज्ञहरुले बताउँदै आएका छन् ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here