बागलुङ, ११ असोज । सहकारीको रकम अपचलन गरी फरार रहेका बागलुङको ढोरपाटन नगरपालिकाका नगरप्रमुख देवकुमार नेपाली भारतको नयाँ दिल्लीबाट पक्राउ परेका छन् ।
बागलुङ र पोखरामा रहेको इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष नेपालीले बचतकर्ताको रकम अपचलन गरी १६ महिनादेख फरार रहेका थिए । सहकारी ठगी प्रकरणमा जोडिएपछि उनी २०८० जेठ देखि सम्पर्कबिहीन भएका थिए । नेपालीविरुद्ध १२ माघ २०८० मा नेपाल प्रहरीको अनुरोधमा इन्टरपोलले नेपालीबिरुद्ध रेड कर्नर नोटिस जारी गरेको थियो । इमेज सहकारीका संस्थापक अध्यक्ष नेपालीसहित नेपालीसहित कार्यवाहक अध्यक्ष डोरबहादुर परियार, सचिव सुनिल नेपाली, कोषाध्यक्ष लक्ष्मी सेन र सञ्चालक सदस्यहरू चित्रबहादुर भण्डारी, रूपा विक र झगबहादुर शाहीलाई ७ वैशाखमा गते गृहमन्त्रालयले यात्रा अनुमतिमा रोक लगाएको थियो ।
नेपालीलाई आज शुक्रबार पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ । उनलाई नेपाल ल्याउन आवश्यक कुटनीतिक प्रक्रिया अघि बढाइएको पनि प्रहरीको भनाई छ ।
इमेज सहकारीको बागलुङ बजार, गलकोट र बुर्तिबाङमा गरी ३ वटा शाखा बागलुङमा मात्र छन्भने पोखरा सिर्जनाचोकमा समेत इमेज सहकारी खोलिएको छ । बागलुङ र पोखरा दुबै ठाउँमा बचतकर्ताका संघर्ष समिति नै बनाएर मेयर नेपालीलाई प्रकाउ गरी कारबाहीको माग गर्दै आएका छन् ।
जिल्ला प्रहरी कार्यालय बागलुङले जेठ २१ गते बचत रकमसहित प्रमाण जुटाएर उजुरी दिन आह्वान गरेको थियो । उनीसहित सहकारी सञ्चालकले १ हजार ५ सयभन्दा बढी बचतकर्ताको डेढ अर्बभन्दा बढी रकम अपचलन गरेको मुद्दा बागलुङ जिल्ला अदालतमा छ । उनीसहित ११ जनाविरुद्ध २०८० असार २५ गते जिल्ला सरकारी वकिलको कार्यालय बागलुङले जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।
नेपालीले बेलाबेलामा सामाजिक संजालमा आएर भौतिक सम्पत्ती बिक्री गरी बचतकर्ताको रकम फिर्ता गर्ने जनाउँदै आएका थिए । श्रीमतीसहित फरार रहेका मेयर नेपालीले पहिलो पटक ५ मंसिर ०८० मा फेसबुकमा भिडियो सन्देश तथा विज्ञप्तिमार्फत आफ्नो र श्रीमतीको नाममा रहेको घरजग्गाबाट हिसाब मिलाउन तयार रहेको सार्वजनिक गरेका थिए ।
फेसबुकमार्फत फरार मेयर नेपालीले आफू र श्रीमतीको नाममा भएको ३ अर्बभन्दा बढी सम्पत्ति मालपोत कार्यालयमा गएर हस्तान्तरण गर्न तयार रहेको बताएका थिए । बुर्तिबाङ, बागलुङ, पोखरा र काठमाडौंमा रहेका ४५ कित्ताहरुमध्ये बुर्तिबाङ मा ७ वटा घर, बागलुङमा २ वटा घर, पोखरा मा ३ वटा घर, काठमाडौंमा ६ वटा घर गरी जम्मा १८ वटा घर मेयर नेपाली र श्रीमतीको नाममा रहेको उनले खुलाएका थिए । उनले पटक–पटक सामाजिक सञ्जालबाट जारी गरेअनुरुप नै आफ्नो सम्पति विक्री गरेर बचतकर्ताको रकम फिर्ता गर्ने सहकारी संस्थाहरुको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानबिन समितिलाई समेत पत्र पठाएका थिए ।