उत्कृष्ट नतिजा हासिल गर्ने चिल्ड्रेन लाईफका विद्यार्थी पुरस्कृत

बागलुङ, ३० चैत । चिल्ड्रेन लाइफ इङ्गिलस बोर्डिङ स्कुलले उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरुलाई पुरस्कृत तथा सम्मान गरेको छ । स्कुलले शुक्रबार विभिन्न क्षेत्रमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरुलाई पुरस्कृत तथा सम्मान गरेको हो ।

कार्यक्रममा स्कुलले नगर तथा जिल्लास्तरीय राष्ट्रपति रनिङसिल्ड प्रतियोगितामा स्वर्ण, रजत र कास्य पदक जित्न सफल खेलाडीहरूलाई क्रमशः नगद रु ८ हजार, रु ६ हजार र रु ४ हजारसहित ट्र्याकसुट प्रदान गरेको थियो । त्यस्तै पोखरामा सम्पन्न गण्डकी प्रदेशस्तरीय हिसान कप फुटसल प्रतियोगितामा उपाधि जित्न सफल चिल्ड्रेन लाईफका खेलाडीहरुलाई नगद तथा ट्रयाकसुट सहित सम्मान गरिएको थियो ।

विद्यालयले युनिभर्सल सबलाइम एकेडेमीको २३ औँ वार्षिकोत्सवको अवसरमा आयोजित आधारभूत विद्यालयस्तरीय रनिङसिल्ड हाजिरजवाफ प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने, आठौँ बागलुङ महोत्सवअन्तर्गतको कथावाचन प्रतियोगितामा द्वितीय स्थान हासिल गर्ने विद्यार्थीहरुलाई सम्मान गरिएको प्राथमिक तहका संयोजक जीवन रोका क्षेत्रीले जानकारी दिनुभयो । कार्यक्रममा विभिन्न खेल विधाका प्रशिक्षकहरूलाई समेत नगद तथा प्रमाणपत्रसहित सम्मान गरिएको थियो ।

पदक विजेता उत्कृष्ट खेलाडीहरूलाई विद्यालयले प्रोत्साहनस्वरूप शतप्रतिशत तथा ५० प्रतिशत छात्रवृत्ति प्रदान गर्ने घोषणा समेत गरेको छ ।

पुरस्कार वितरण कार्यक्रममा बोल्दै बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्तकुमार श्रेष्ठले विद्यार्थीको समग्र विकासका लागि खेलकुद अपरिहार्य रहेको बताउनुभयो । उहाँले खेलकुदले शरीरलाई स्वस्थ र तन्दुरुस्त बनाउनुका साथै अनुशासन र आत्मविश्वास बढाउन महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्नुभयो ।

विद्यालयका प्रिन्सिपल नवराज श्रेष्ठले विद्यालयको कुशल व्यवस्थापन र खेलाडीहरूको अथक मेहनतका कारण जिल्लाको खेलकुद क्षेत्रमा चिल्ड्रेन लाइफले उल्लेखनीय योगदान पु¥याउन सफल भएको बताउनुभयो ।

कार्यक्रममा संविधानसभा सदस्य प्रकाश शर्मा पौडेल, नगर शिक्षा अधिकारी धनप्रसाद पोखरेल तथा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्णप्रसाद कडेलले शुभकामना मन्तव्य राख्दै विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना गर्नुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रीधर कँडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन नारायणप्रसाद पौडेलले गर्नुभएको थियो ।