काठमाडौं, २१ वैशाख ।
पार्टीभित्र राजीनामाको दबाबमा रहेका प्रधानमन्त्री केपी ओलीको संकट नेकपा भित्र बदलिएको समिकरणका कारण टरेको छ ।
नयाँ विकसित समिकरकै कारण पार्टी विभाजनको खतरा पनि टरेको छ । नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल तथा वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपालसहितका नेकेही नेताले पार्टी र सरकार सञ्चालनमा प्रधानमन्त्री असफल भएको भन्दै गत १७ वैशाखको सचिवालय बैठकमा ओलीको राजीनामा माग गरेका थिए । तर, शनिबारको बैठकमा भने एकाएक देखिएको नेताबीचको मेलमिलाप नीतिपछि नेताहरूका असन्तुष्टि र आक्रोश मत्थर मात्र भएको छैन, प्रधानमन्त्री तथा अध्यक्ष ओलीदेखि सबै नेताले आ–आफ्ना कमजोरी स्वीर्कादै आत्मआलोचना समेत गरेका छन् । प्रधानमन्त्री ओलीले बैठकमा पार्टी र सरकार सञ्चालनमा आफ्ना तर्फबाट कमजोरी भएको भन्दै आत्मआलोचना गरेपछि राजीनामा दिनै पर्ने अडानमा रहेका नेताहरू पनि पछि हटेका थिए ।
ओलीले विगतमा सरकारबाट पार्टीलाई छलेर कतिपय निर्णय गर्दा कमजोरी भएको र अबका दिनमा त्यसरी नजाने प्रतिवद्धतासहित आत्मआलोचना गरेको सचिवालयका एक सदस्यले जानकारी दिए । ‘म सबै कुरा मान्छु । मैले पार्टी र सरकारबीच समन्वय गरेर अगाडि बढ्ने कुरामा गल्ती गरें। जे–जे गरे मैले ठिक गरिन् । त्यसका लागि म गम्भीर आत्मआलोचना गर्छु’, ओलीलाई उदृत गर्दै एक सदस्यले सुनाए, ‘म सरकार सञ्चालनका विषयमा अब पार्टीको विधि र पद्दती अनुसार पार्टी निर्णयका आधारमै अगाडि जान्छु । तपाईहरूले पनि आफ्ना तर्फबाट भएका कमजोरीको जिम्मा लिनुहोस् । अब एकतावद्ध भएर जाऔं ।’
अध्यक्ष दाहालले पनि नेताहरूबीचमा अविश्वास पैदा हुनेमा सबै पक्षबाट कमी कमजोरी भएको र त्यसलाई सच्चाउँदै एकतावद्ध भएर जानुको विकल्प नरहेको भन्दै आफ्नो कमजोरी स्वीकारेका थिए। बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्रीले बैठकमा आत्मआलोचना गरेको र अर्का अध्यक्ष दाहाललगायतका अन्य नेताले पनि आ–आफ्नो जिम्मेवारीका हकमा आत्मआलोचित हुँदै पार्टीको आन्तरिक जीवनमा देखा परेका समस्या र संकटलाई समाधान गर्न एकतावद्ध भएर पार्टी एकताको पक्षमा ढृढ रहने निर्णय भएको जानकारी सञ्चारकर्मीलाई दिए ।
‘पार्टी एकताको रक्षा गर्ने र सुढृढ गर्ने, पार्टी एकतालाई कमजोर पार्ने र फुट उन्मुख गर्ने कुनै क्रियाकलापमा सामेल नहुन सम्पूर्ण पार्टी पंक्तिलाई निर्देशन दिने निर्णय बैठकले गरेको छ’, प्रवक्ता श्रेष्ठले भने ।
सचिवालयका अर्का एक सदस्यका अनुसार, बैठकमा दुई अध्यक्षपछि बोलेका वरिष्ठ नेता झलनाथ खनालले एकतावद्ध भएर जाने प्रतिवद्धता नेताहरूबाट आएपछि त्यसरी नै जानु उपयुक्त रहेको धारणा राखेको थिए । खनाल अघिल्लो बैठकमा भन्दा नम्र भाषामा शनिबारको बैठकमा प्रस्तुत भएका थिए । खनालले स्थायी समिति बैठक बोलाउन माग गरेका थिए ।
खनालपछि बोलेका बरिष्ठ नेता नेपालले एकतावद्ध भएर जाने, कमी कमजोरी स्वीकार गर्ने विषय सही भए पनि दुई नेताको चोचोमोचो मात्र मिलाउने कुरा मात्र हो भने आफूले त्यसलाई नमान्ने बताएका थिए । उनले पार्टी नेताहरूले स्थायी समिति बैठक माग गरेकोले स्थायी समिति बैठक बोलाउनु पर्ने धारणा राखेका थिए ।
उपाध्यक्ष वामदेव गौतमले भने नेताहरूबीच मेलमिलाप देखिनु, एकतावद्ध भएर जाने विषय आउनु असाध्यै राम्रो भएको बताउँदै नेताहरूले गुटबन्दी त्याग्नुपर्ने धारणा राखेका थिए ।
प्रवक्ता श्रेष्ठले एकताका कुरा आउनु अत्यन्त खुसीको विषय भएको धारणा राख्दै अब पार्टी विभाजनको खतरा अन्त्य हुनुपर्ने बताएका थिए । उनले भैंसेपाटी बैठकले अध्यादेश फिर्ता लिन लगाउने र नभए स्थायी समिति बैठक बोलाएर भए पनि अध्यादेश फिर्ता गराउने भन्ने मात्र निष्र्कष निकालेको भए पनि राजीनामाको विषय कहाँबाट आएको भन्दै प्रश्न गरेका थिए ।
‘भैंसेपाटी बैठकले अध्यादेश फिर्ता लिन लगाउने भन्ने वाहेकको कुनै निष्र्कष निकालेको थिएन । राजीनामाको विषय नै कहीं कतै थिएन। पार्टी फुटमा लैजाने तरंगित बनाउने विषय कसरी आए ? ’ श्रेष्ठलाई उद्धृत गर्दै एक सचिवालय सदस्यले भने, ‘म कसैका ब्यक्तिगत स्वार्थ केन्द्रित गुटगत बैठकहरूमा भाग लिने छैन । गौतमजीको अघिल्लो सचिवालयमा प्रधानमन्त्री बनाउने प्रस्ताव फिर्ता भएको हो वा के हो ? यस विषयमा बैठकमा प्रष्टाउनु आवश्यक छ ।’
सदस्य रामबहादुर थापा, ईश्वर पोखरेल र विष्णु पौडेलले भने नेताहरूका बीचमा रूपान्तरणसहितको एकताको कुरा आएकोले सकारात्मक सन्देश गएको धारणा राखेका थिए ।

२५ बैशाखमा स्थायी समिति बैठक
२० जना स्थायी समिति सदस्यले लिखित रूपमा माग गर्दै आएको पार्टी स्थायी समिति बैठक बैशाख २५ गते काठमाडौंमा बोलाउने निर्णय भएको छ । त्यसका लागि आवश्यक तयारी गर्न २४ गते पुनः सचिवालय बैठक बस्ने प्रवक्ता श्रेष्ठले जानकारी दिए । ‘पार्टीभित्रको एकता, सहमति र समाधान निष्र्कष अनुरूप पार्टीलाई दिशा निर्देशित गर्ने गरी त्यसका निम्ति आवश्यक छलफल गर्न स्थायी समिति बैठक वैशाख २५ गते ११ बजे काठमाडौंमा बस्ने र त्यसको तयारीका लागि सचिवालय २४ गते ३ बजे बस्ने पनि तय भएको छ ।’ नेकपा भित्रको विवाद समाधानका लागि शनिबारको सचिवालय बैठक नेकपामा निर्णायक देखिएको छ ।
दाहाल र नेपाल पक्षका नेताहरूले प्रधानमन्त्री ओलीलाई सरकार र पार्टी दुवैको नेतृत्वबाट राजीनामा माग गरेपछि विवाद पेचिलो बनेको थियो । ओली पक्षका नेताहरूले प्रधानमन्त्रीको राजीनामाको माग असामयिक र कम्युनिस्ट पार्टीको आन्दोलनको भविश्यका दृष्टिकोणले पनि अनुचित रहेको बताउँदै आएका थिए । प्रधानमन्त्रीले ओलीले १७ बैशाखमा बसेको सचिवालय बैठकमा कोरोना संकटपछि आफूले राजीनामा दिने, त्यसपछि वामदेवलाई प्रधानमन्त्री बनाउने, माधव नेपाललाई पार्टीको ते श्रो अध्यक्ष बनाउने प्रस्ताव गरेपछि संकटले फरक दिशा लिएको थियो । ओलीका यो अस्त्रले नेकपा पुनः एक जुट झै देखिएको छ ।

गौतम उमेदवार बन्लान ?
ओलीले आफ्नो प्रस्ताव अनुसार नै उपाध्यक्ष गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभाको उम्मेदवार बनाउने र त्यहाँ लैजान विषयमा छलफल गराएका थिए । उनले विद्यान संशोधन गरी वरिष्ठ नेता नेपाललाई पार्टीको ते श्रो अध्यक्ष बनाउन गरेको प्रस्ताव भने नेपाल आफैंले अस्वीकार गरेपछि त्यो ‘च्याप्टर’ नै बन्द भएको प्रवक्ता श्रेष्ठले बताए । वामदेवले पनि राष्ट्रिय सभामा जाने अस्वीकार गरिरहेका छन् ।
गौतम र ओलीबीच सचिवालय बैठक अगाडि छुट्टै छलफल भएको थियो । छलफलमा भएका विषय सचिवालय बैठकमा जानकारी गराइएको थिएन् ।
गौतमलाई पाल्पा क्षेत्र नम्बर १ का सांसद दलबहादुर रानालाई राजीनामा दिन लगाई उनको स्थानमा उपचुनाव गराएर प्रतिनिधिसभा ल्याउन सहमति जुटेको नेकपा स्रोतले बतायो । राना गौतम निकट नेता हुन् । त्यहाँ गत चुनावमा रानाले ३२ हजार ५४९ मत ल्याएर विजयी भएका थिए । अब गौतम त्यही उम्मेदवार बन्न जानेछन् ।

सरकार नेकपाको विधि र पद्धति अनुसार
सरकार पार्टी कमाण्डमा नचलेको आरोप लागिरहेका बेला शनिबारको सचिवालय बैठकमा अब सरकार पनि पार्टीको विधि र पद्दती अनुसार निर्णयकै आधारमा सञ्चालन गर्ने निर्णय भएको श्रेष्ठको भनाइ छ । ओलीले शनिबारको छलफलमा संसद्को बजेट अधिवशेन बोलाउने बिषयमा पनि नेताहरूलाई जानकारी गराएका थिए । कोभिड–१९ विरुद्ध सिंगो राष्ट्रलाई एकतावद्ध बनाएर परिचालन गर्नुपर्ने आवश्यकता महसुस गर्दै नेकपा सचिवालय पार्टी पंक्तिलाई पनि एकतावद्ध भएर त्यो निर्णयमा पुगेको हो ।

बहुमतका लागि दिनभर कसरत
सचिवालय बैठक अगाडि आफ्नो पक्षमा बहुमत जुटाउन प्रधानमन्त्री ओलीले शनिबार दिनभर प्रयास गरेका थिए । उनले शनिबार उपाध्यक्ष गौतम, गृहमन्त्री समेत रहेका सचिवालय सदस्य रामबहादुर थापा र महासचिव विष्णु पौडेलसँग छुट्टाछुट्टै भेटवार्ता गरी आफ्नो पक्षमा उम्भाउन सफल भए ।

राष्ट्रपतिसँग अर्थपूर्ण भेट
सचिवालय नेताहरूलाई आफ्नो पक्षमा सहमत गराएपछि प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शीतल निवासमा भेटवार्ता गरेका छन् । पार्टी सचिवालय बैठक अघि आफूले सचिवालयमा बहुमत जुटाएपछि भण्डारीसँग प्रधानमन्त्रीले शीतल निवासमा गरेको भेटलाई अर्थपूर्ण रूपमा लिइएको छ। एक साताका बीचमै ओलीले शनिबारसहित राष्ट्रपतिसँग तीन पटक भेटवार्ता गरिसकेका छन् ।
राष्ट्रपतिसँग भेटपछि उनले अध्यक्ष दाहालसँग एक्लै भेट गरी सचिवालय बैठक सुरु गरेका थिए । जहाँ उनले आफूविरुद्ध नेताहरूको मोर्चावन्दी तोडेर आफू अनुकुलको निर्णय गराउन सफल भएका थिए । ओलीले दाहाललाई पनि आफूसँगै एउटै लहरमा आफ्नो जस्तै कुर्सीमा राख्ने ब्यवस्था शनिबारको सचिवालय बैठकमा गरे ।
अन्नपूर्ण पोस्टमा खबर छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here