काठमाडाैं, २० बैशाख ।
सत्तारुढ दल नेकपामा संकट गहिरिँदै गएको समयमा चीनका राजदूत होउ यान्छीले मतान्तर देखिएका नेताहरूसँग छुट्टाछुट्टै भेटवार्ता गरेकी छन् । चिनियाँ राजदूतले बिहीबार नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीसँग भेट गरी चीनको चासो व्यक्त गरेकी थिइन् । तत्कालीन एमाले र माओवादीलाई मिलाउन चिनियाँको भूमिका र सद्भाव रहेको चर्चा भइरहेका बेला अहिले दलको विवादमा पनि चीन सक्रिय देखिएको छ ।
प्रधानमन्त्री ओलीलाई भेटेको भोलिपल्ट राजदूत यान्छीले अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालसँग छुट्टाछुट्टै भेट गरिन् । दाहाल र नेपाल गठजोडले प्रधानमन्त्री ओलीलाई असहज पारिरहेको अवस्थामा उनले तीनै नेतालाई भेटेकी हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीसँग चिनियाँ राष्ट्रपति सी चिनफिङले टेलिफोन वार्ता गरेपछि चिनियाँ राजदूतको सक्रियता त्यहीअनुरूप बढेको हो । उनले नेताहरू भेट्दा एक्लाएक्लै वार्ता गर्ने गरेको स्रोतहरूले जानकारी दिए ।
प्रधानमन्त्रीसँगको भेट गोप्य राखिए पनि अन्य दुई भेटघाट सार्वजनिक भएलगत्तै चिनियाँ दूतावासका अधिकारीले प्रधानमन्त्रीसँगको भेटको पनि पुष्टि गरेका हुन् । चिनियाँ अधिकारीले भेटमा दुईपक्षीय सहयोग र कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि चीनले गर्ने सहयोग र सद्भावलगायतमा छलफल भएको जानकारी दिएका छन् । दाहाल निवास खुमलटारबाट निस्केलगत्तै उनी नेपाल भेट्न कोटेश्वर पुगेकी थिइन् । दुवै भेटमा कोरोना रोकथामका लागि भइरहेका प्रयासबारे कुराकानी भएको औपचारिक जानकारी दिइएको छ ।
चिनियाँ राजदूतले सरकारसँग छलफल गर्न सक्नेमा किन सत्तारुढ दलका नेताहरूसँग यो समयमा भेट गरे भन्दै उनकै दलका नेताले चासो देखाएका छन् । चीनले वैचारिक मतसमेत मिल्ने भन्दै कम्युनिस्ट नेतृत्वसँग सहकार्यको हात बढाउँदै गएको छ । सत्तारुढ दलका विदेश विभाग प्रमुखसँग चिनियाँ विदेश विभाग प्रमुखले भिडियो कन्फरेन्स गरेका थिए । तर, अन्य दलका विदेश विभागसँग त्यो सहकार्य चीनले देखाएको छैन ।
अन्नपूर्ण पोष्टमा प्रकाशित

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here