काठमाडाैं, २० बैशाख ।
उत्तर कोरियाली नेता किम जङ-अन विगत २० दिनयता पहिलो पटक सार्वजनिक रूपमा देखिएको त्यहाँको सरकारी सञ्चारमाध्यमले जनाएको छ । केसीएनए समाचार संस्थाका अनुसार एउटा रासायनिक मल उद्योगको उद्घाटन कार्यक्रममा किमले रिबन काटेका छन् ।
शुक्रवार उनी उपस्थित हुँदा उद्योगमा उपस्थित मानिसहरू “खुशीले रुन थालेको” केसीएनएले जनाएको छ । एप्रिल १२ तारिखमा सरकारी सञ्चारमाध्यममा अन्तिम पटक देखिएयता नेता किमको स्वास्थ्य अवस्थालाई लिएर विश्वव्यापी अड्कलबाजीहरू भइरहेका थिए ।
पुष्टि
उत्तर कोरियाली सञ्चारमाध्यमले उनी सार्वजनिक रूपमा देखिएको बारेमा गरेको रिपोर्टलाई स्वतन्त्र रूपमा पुष्टि गर्न सकिँदैन । पछि सरकारी सञ्चारमाध्यमले उद्योगबाहिर किमले रिबन काट्दै गरेका तस्वीरहरू सार्वजनिक गरेको थियो ।
किम पुनः सार्वजनिक रूपमा देखिएको भनिएकोबारे जिज्ञासा राख्दा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अहिले आफूले टिप्पणी गर्न नचाहेको प्रतिक्रिया दिएका छन् ।
केसीएनएका अनुसार कार्यक्रममा किम सहभागी हुँदा उनीसँग बहिनी किम यो-जङसहित थुप्रै उत्तर कोरियाली वरिष्ठ अधिकारीहरू उपस्थित थिए ।
उत्तर कोरियाली नेताले उत्तरी प्योङयाङ क्षेत्रस्थित एउटा उद्योगको कार्यक्रममा रिबन काटेका थिए । “मुलुकलाई सम्पन्नता दिलाउने दिशामा सर्वोच्च नेताले गरिरहेको नेतृत्वका लागि भन्दै कार्यक्रममा सहभागी मानिसहरू खुशीले रुन थाले,” केसीएनएले भनेको छ ।
किमले उद्योगको उत्पादन प्रणालीसँग आफू सन्तुष्ट भएको बताए र देशको रासायनिक उद्योग तथा खाद्यान्न उत्पादनमा पुर्‍याएको योगदानका लागि कम्पनीको उनले प्रशंसा पनि गरेको केसीएनएले उल्लेख गरेको छ ।

कुन कुराले उनको स्वास्थ्यबारे अड्कलबाजी शुरू गरायो ?
आफ्ना हजुरबुवा तथा उत्तर कोरियाका संस्थापक नेता किम इल सङको जन्मजयन्ती समारोहमा अनुपस्थित भएपछि किम जङ-अनको स्वास्थ्य अवस्थाबारे अड्कलबाजी शुरू भयो ।
उत्तर कोरियाली पात्रोमा किम इल सङको जन्मजयन्ती समारोह सबैभन्दा ठूला कार्यक्रममध्ये एक हो । र, किम जङ-अन प्रायः उक्त दिन आफ्ना हजुरबुवाको चिहानस्थल पुग्ने गर्छन् । उत्तर कोरियाली भगौडाहरूद्वारा सञ्चालित एउटा वेबसाइटको समाचारमा किम बिरामी भएकोबारे दाबीहरू गरिएका थिए ।
एउटा अज्ञात स्रोतले गत अगस्ट महिनायता मुटुसम्बन्धी समस्याबाट गुज्रिरहेको तर माउन्ट पाएक्टुको पटकपटक भ्रमण गरेपछि अवस्था बिग्रिएको भनेर द डेली एनकेलाई बताएको थियो । त्यसपछि एउटै स्रोतको भनाइमा आधारित समाचारमा टेकेर अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले पनि खबर बनाए । (बिबिसि)

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here