ग्यास खपत घट्यो, १४ हजार मेट्रिक टन भण्डारण

काठमाडौं, १९ वैशाख ।
गत चैतको पहिलो साता बजारमा ग्यास अभाव देखिएको थियो । कोरोना भाइरसको त्रासले ग्यास अभाव हुनसक्ने आशङ्कामा उपभोक्ताले ग्यास सिलिन्डर मौज्दात बढाउँदा बजारमा ग्यास अभाव हुन पुगेको थियो तर अहिले लकडाउनको १ महिना बितिसक्दा पनि बजारमा ग्यासको खासै अभाव भएको छ भने ग्यासको खपत पनि न्यून छ ।
नेपाल आयल निगमका अनुसार ग्यास भण्डारण अहिलेसम्मकै उच्च भएको छ । सामान्य दिनमा दैनिक ८० हजार सिलिन्डर ग्यास खपत हुँदै आएको थियो तर हाल लकडाउनको समयमा दैनिक करिब ५० हजार सिलिन्डर खपत भएको नेपाल एलपी ग्यास उद्योग सङ्घले जनाएको छ । ग्यास अपत करिब ३० प्रतिशतले घटेकोे सङ्घका अध्यक्ष गोकुल भण्डारीले जानकारी दिए ।
एलपी ग्यास बढी खपत हुने होटल तथा रेस्टुरेन्टहरू बन्द भएकाले ग्यास खपत न्यून भएको हो । साथै ठूला भोज, जमघट तथा कार्यालय र घरेलु तथा साना उद्योगहरू बन्द हुँदा ग्यास खपतमा कमी आएको सङ्घको दाबी छ ।
ग्यास खपत कम भएकाले उद्योगहरूले भण्डारण गरेका छन् । सात हजार मेट्रिक टन भण्डारण क्षमता भए पनि हाल १४ हजार मेट्रिक टन भण्डारण गरिएको छ । ग्यास उद्योग र सिलिन्डरमा मात्र नभई ग्यास बुलेटहरूमा समेत भण्डारण गरिएको छ ।
सङ्घका अनुसार भारतबाट आएका करिब २ सय बुलेटको ग्यास बुलेटमै भण्डारणस्वरूप राखिएको छ । ग्यास भण्डारण अहिलेसम्मकै उच्च हो । लकडाउनको समयमा पेट्रोलियम पदार्थको बिक्री वितरण पनि घटेको छ ।
सवारीसाधन सञ्चालनमा रोक लगाएका कारण पेट्रोल डिजेलको खपत न्यून भएको हो । हाल दैनिक तीन सय केएल पेट्रोल र हजार केएल डिजेल बिक्री हुँदै आएको छ । सामान्य अवस्थामा दैनिक ३ हजार केएल पेट्रोल र सात हजार केएल डिजेल खपत हुँदै आएको थियो ।
आजको गोरखापत्र दैनिकबाट

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here