काठमाडौं, १८ वैशाख
सुप्रसिद्ध अभिनेता इरफान खान (५३) ले आफ्ना अभिनयमा जति प्रकारका चरित्र निर्वाह गरे, सबै जीवन्त, अविस्मरणीय र अद्भुत छन् । चाहे ‘चन्द्रकान्ता’को चरित्र बद्रीनाथ होस्, चाहे शेक्सपियरको नाटक ‘म्याकबेथ’मा आधारित ‘मकबुल’ । या ‘लन्च बक्स’को साजन, ‘पानसिंह तोमार’को पानसिंह वा ‘नेमसेक’को अशोक । सबैमा उनको अभिनयको स्वाभाविकपनाले दर्शकलाई वशीभूत गरिदिन्छ । ‘तपाईं उनले गरेका चरित्रलाई माया नगरी धरै पाउनुहुन्न,’ निर्देशक अनुप बराल भन्छन् ।
आन्द्रामा संक्रमण भएपछि मुम्बईस्थित कोकिलाबेन धिरुभाई अम्बानी अस्पतालमा बुधबार दाखिल भएका इरफान घर फर्केनन्, त्यहीँबाट महाप्रस्थान गरे । तर, उनी गए पनि उनको अभिनयको सर्वोत्तम नमुनाहरु भने संसारमा रहिरहनेछन् । उनी हिन्दुस्तानी फिल्ममा मात्र होइन, समग्र कलासंसारकै अग्रपंक्तिमा अर्थपूर्ण स्थान बनाएका कलाकार हुन् । आफ्नो अभिनय यात्रामा उनले थुप्रै फिल्ममार्फत कला–दुनियाँलाई समृद्ध बनाएका छन् ।
नेपाली कलाकारिताका शिखर व्यक्तित्व तथा निर्देशक नीर शाह भन्छन्, ‘उहाँ अभिनित ‘अंग्रेजी मिडियम’ भर्खरै हेरेको थिएँ । भर्खरै भेटेको मान्छे भेट्नेबित्तिकै दिवंगत हुनुभयो जस्तो लागेको छ । उहाँले अभिनयको आफ्नै धार स्थापित गर्नुभएको छ । थिएटर ब्याकग्राउन्डबाट आउनुभएको उहाँलाई गुमाउनु एक उत्कृष्ट कलाकार गुमाउनु हो । वर्तमान एसियाकै एक धुरन्धर कलाकार हुनुहुन्थ्यो उहाँ ।’
इरफानमाथि शाहको यो टिप्पणी मानिस दिवंगत भइसकेपछि गरिने सम्झना वा गुणगान मात्र होइन । कलाप्रतिको आफ्नो साधना, बुझाइ र अति मेहनतमार्फत इरफानले हासिल गरेको उचाइ साँच्चिकै विराट छ ।

दि लञ्‍चबक्स, २०१३, निर्देशक : रितेश बत्रा

इरफानको सिनेमासफर ‘सलाम बम्बे’ (सन् १९८८) हुँदै टेलिभिजनको पर्दाबाट निकै पहिले शुरु भएको थियो । धेरै दर्शकमाझ उनी चिनिए– देवकीनन्दन खत्रीको उपन्यासमा आधारित टेलिसिरियल ‘चन्द्रकान्ता’मार्फत । ‘चन्द्रकान्ता’मा बद्रीनाथको भूमिकाबाट उनी थुप्रै नेपाली दर्शक, कला समीक्षकका प्रिय कलाकारको सूचीमा परेका थिए ।
नीर शाहलाई बद्रीनाथको चरित्र अझै सम्झना आउँछ । उसबेलाका नेपाली टेलिभिजनका दर्शकले सम्भवतः ‘महाभारत’ र ‘रामायण’पछि सबैभन्दा बढी चर्चा गरेको स्वैरकाल्पनिक टेलिसिरियल पनि हो– चन्द्रकान्ता (सन् १९९६) । इरफानका ‘मकबुल’ (सन् २००४), ‘स्लमडग मिलेनायर’ (सन् २००८), ‘ज्यूरासिक वर्ल्ड’ (सन् २०१५) ‘लाइफ अफ पाई’ (सन् २०१२), ‘पानसिंह तोमार’ (सन् २०१२), ‘द लन्च बक्स’ (सन् २०१३), ‘हैदर’ (सन् २०१४), ‘गुण्डे’ (सन् २०१४), ‘पिकु,’ र ‘तलबार’ (सन् २०१५), ‘हिन्दी मिडियम’ (सन् २०१७) ‘अंग्रेजी मिडियम’ (सन् २०२०) फिल्मबारे सम्भवतः प्रशस्त लेखिएको, चर्चा गरिएको छ ।

०००
२०६६ सालमा नाट्य महोत्सवमा भाग लिन ‘गुरुकुल’ को टोलीसँग नयाँदिल्ली पुगेका बेला नेसनल स्कुल अफ ड्रामा (एनएसडी) मा भेट भएका इरफानसँग अन्तवार्ता गर्ने अवसर पाएको थिएँ ।
बिहान अबेरसम्म सडक किनारमा बाक्लो तुसारो जम्ने दिल्ली बडो चिसो थियो । एनएसडीको चौरमा साँझ आगो ताप्दै गर्दा अचानक भीड देखापर्‍यो । त्यही भिडबाट एउटा अनुहार झुल्कियो । त्यो इरफानको अनुहार थियो ।
भीड छिचोल्दै नाट्यालयमा छिर्न बढ्दै थिए इरफान । क्यामेराका चर्का फ्ल्यासहरूले वरिपरि झलमल्न भयो । तीमध्ये एउटा फ्ल्यास मेरो क्यामेराको पनि थियो । भिड मत्थर हुँदै गएपछि उनको अगाडि कलाकार सुनील पोखरेल देखिए । उनीहरू एक-अर्कालाई अँगालो मारिरहेका थिए । इरफान हल्का हाँसेर भन्दै थिए, ‘हामी सिनेमा खेल्नेहरू जता गयो किन त्यतै भिड जम्मा हुन्छ ? यो चाहिँ मैले नबुझेको कुरा ।’
त्यति नै खेर भीडका एक जनाले इरफान नजिकै आएर आफू फ्यान भएको कुरा सुनाए र ‘चन्द्रकान्ता’को संवाद सुनाइदिन आग्रह गरे । इरफानको अनुहार रातो भएको थियो । ‘फ्यान’ लाई औंला तेर्स्याउँदै उनले सोधे, ‘म डायलग त सुनाइदिन्छु तर, तपाईंले मैले मागेजति पैसा दिनुपर्छ । हुन्छ ?’ त्यसपछि ‘फ्यान’ लुत्रुक्क परे र त्यहाँबाट लुसुक्क हिँडे ।

अभिनेता इरफान खान भन्थे : अनिश्‍चितता मात्रै एक निश्‍चितता हो
त्यसपछि नाट्य विद्यालयको एक कुनामा इरफान र सुनील गाँजा तान्न थाले । विद्यालय परिसर त्यहाँ बलेका थुप्रै बत्तीले झलमल्ल थियो । जाडो र कुहिरोमा पनि बेलाबेला इरफानको अनुहार उज्यालो हुन्थ्यो । बेलाबेला मलिन । उनी कालो ओभरकोटमा साधारण देखिएका थिए, हिन्दुस्तानी साहित्यकार निर्मल बर्माको कुनै एउटा कथाको पात्रजस्तै । भर्खरै कुनै फिल्मको सुटिङबाट हतार–हतार त्यहाँ आइपुगेका उनको अनुहारमा थकान पनि देखिन्थ्यो ।
सुनीलको करले मात्रै इरफान अन्तर्वार्ता दिन तयार भएका थिए । त्यसबेला उनले भनेका थिए, ‘मैले गरेका धेरै फिल्ममात्र दर्शकको मनोरन्जनका लागि हुन् । आफ्नै सिर्जनात्मक खुसीको लागि त साह्रै थोरै फिल्म गर्न पाएको छु । ती फिल्म ‘बक्स अफिस’बाट पास हुनु मेरो लागि धेरै महत्वपूर्ण कुरा हो ।’ आफूले गरेको अभिनयबारे उनी स्पष्ट थिए । कुनै भ्रम थिएन उनलाई । कुरैकुरामा उनले भनेका थिए, ‘मैले खेलेका फिल्ममा सपना र वास्तविकता बराबर हुन्छन् । जसले मानिसलाई सपनाको संसारमा पुर्‍याइदिन्छ ।’
अनुपका लागि इरफान प्रेरक तत्व थिए । उनी भन्छन्, ‘व्यक्तिका रुपमा सम्झिँदा म उनको सदैव हँसिलो अनुहार र सागरझैं गहिरो आँखा सम्झन्छु । उनी शरीरको बाह्य हाउभाउले भन्दा पनि अनुहारले बोल्ने अभिनेता थिए । अनुहारमा पनि सबैभन्दा बढी आँखा नै मुखर । उनको आँखाले चरित्रको आत्मालाई छुन्छ र बोल्छ ।’

करिब करिब सिंगल, २०१७, निर्देशक : तनुजा चन्द्रा
हिन्दुस्तानमा चलेका ‘स्टार हिरो’ हरूको अनुहारसँग कतै पनि मेल नखाने इरफानको अनुहारमा निर्देशक बरालले भनेझैँ त्यस गाँजामय रातमा हल्का मुस्कान थियो, आँखा बढि मुखर थियो । उसबेला भर्खर रिलिज भएको उनको फिल्म ‘बिल्लु बार्बर’ (सन् २००९) शहरमा हिट थियो ।
उनी गफिन थालेपछि उनलाई हेर्न खोज्नेहरुको भीड कुना–कुनाबाट ओइरियो । अँध्यारोमा क्यामेराबाट ‘झिलिक्क–झिलिक्क’ फ्ल्यास आउँदा उनी रिसाएका थिए । भनिरहेका थिए, ‘कैसे गन्दा फोटो खिचते हो ? फ्ल्यास अफ करो ।’
अटोग्राफ माग्ने केटीहरूको छुट्टै भिड थियो त्यहाँ । उनलाई झर्को लागेको आँखाले भनिरहेथ्यो, तैपनि अटोग्राफ दिँदै थिए । एउटी युवतीले अटोग्राफका निम्ति हात पसारिन् । श्रीमती सुतापा सिकदरतर्फ हेरेर मुस्कुराउँदै हल्का संकोचले अटोग्राफ दिए उनले ।
यो भीड, अटोग्राफ र झिलमिल दुनियाँसँग हेलिनुपरेका इरफानसँग मेरो प्रश्न थियो– २५ वर्षअघिको इरफानलाई अहिलेको इरफानले फर्के हेर्दा कस्तो देख्ला ? उनले भनेका थिए, ‘एकदम फरक । अल्लारे । जीवनको उद्देश्य थाहा नपाएको एउटा मानिस ।’
भनिन्छ, इरफानले पर्दामा ‘अभिनय’ गरेनन् । आम मान्छेले जसरी दैनिक जीवनमा व्यवहार गर्छन्, उनले दुरुस्त त्यस्तै ‘व्यवहार’ प्रदर्शन गरे । अभिनयमा आफूलाई आम मान्छेजस्तै प्रस्तुत गरे । उनी रियल स्टार थिए– एक्टर स्टार । र, उनको लुक्समा स्टार होइन, ‘आम–मान्छे’ देखिन्थ्यो । अभिनयबाहिरको र अभिनयभित्रको जिन्दगीमा एउटै मानिस ।

मकबुल, २००३, निर्देशक : विशाल भारद्वाज
अनुपका अनुसार इरफानले अभिनय र चरित्र निर्माणको डेफिनेसनलाई नै उल्टो सुईमा घुमाए । भन्छन्, ‘बलिउड अभिनयको दुनियाँमा इरफान यस्ता कालिगडमध्ये पर्छन्, जसले एभरेज लुक्सको मानिस पनि सिनेमाको नायक हुन सक्छ भन्ने मान्यतालाई स्थापित गराइदिए, त्यो पनि मेन स्ट्रिमवाला कमर्सियल फिल्मी संसारमा,’ अनुप थप्छन्, ‘उनी आउटरभन्दा पनि मोर इन्टरनल एक्टर थिए । हरेक स–साना कुरालाई इन्टरनलाइज्ड गर्ने । र, उनको डायलग डेलिभरी गर्ने तरिका सम्मोहित पार्ने खालको हुन्छ । उनी अभिनय गर्दैनन्, चरित्र बाँच्छन् ।’

हिन्दुस्तानी सिनेमामा अभिनय पढेर आएका कलाकारहरुमध्ये उनको पहिचान नै फरक बनेको छ । उनको अभिनयको एप्रोच फरक र निक्कै स्वाभाविक पाइन्छ । स्वाभाविकताको अति उच्चतम अभ्यास उनले आफ्नो चरित्र निर्माण गरेकाले त्यसो भएको हुन सक्छ । इरफानको चेतना, चिन्तन र मिलनसारिता सम्झेर सुनील चकित हुन्छन् । इरफान खानसँग एनएसडीमा सँगै पढेका उनी भन्छन्, ‘इरफान आफ्नो पढाइ, अभिनयमा अब्बल थिए । तर, उनले आफ्नो क्षमताप्रति कहिल्यै घमण्ड गरेनन् । यी शालीन व्यक्तिले धेरै बोलेनन् । आफ्नो कामले नै आफ्नो सामर्थ्य साबित गरे ।’

सुनिल पोखरेलको सम्झनामा इरफान- फेरि नेपाल आउँछु भन्थ्यो…
एनएसडीमा इरफानसँग सुनीलको सन् १९८४ मा भेट भयो । सुनीलका अनुसार अभिनय गर्नुअघि इरफान निकै तयारी गर्थे । भन्छन्, ‘फिल्ममा जान्छु भन्नेमा उनी त्यतिबेलै स्पष्ट थिए । हेर्दा गम्भीर तर निकै सेन्स अफ ह्युमर र सेन्स अफ आइरोनी भएका मान्छे थिए उनी ।’ इरफानले स्कुलमै हुँदा अफेयर भएकी सुतापासँग बिहे गरे ।

एनएसडीमा पनि दुवै सँगै पढ्थे, सँगै काम गर्थे । गुरुकुलले आयोजना गरेको ‘काठमान्डु इन्टरनेसनल थिएटर फेस्टिभल’मा भाग लिन इरफान २०६७ साल कात्तिकमा काठमाडौं आएका थिए । कवि विप्लव प्रतीकको उनीसँग परिचय त्यहीँ भयो । भेट छोटो थियो तर, आत्मीय । प्रतीक भन्छन्, ‘उनी बडा भद्र र शालीन थिए । एक साँझ हामी सँगै थियौं, सुनीलको अनुरोधमा मैले केही मेरा उर्दु कविता सुनाएँ । केही गीत सुनाएँ । हामी यसरी कुरा गर्दै थियौं कि सुनील होइन म उनीससँग एनएसडीमा ब्याचमेट थिएँ । मैले उनमा कतै पनि लोकप्रिय कलाकार हुँ भन्ने अहंकार भेटिनँ ।’

पानसिंह तोमर, २०१२, निर्देशक : तिग्मांसु धुलिया

रंगकर्मी घिमिरे युवराजका अनुसार इरफान खानले चरित्र निर्माणको प्रक्रियामा पात्रको बाहिरी आवरणभन्दा अझै बढी आन्तरिक मनस्थितिमा गहिरो यात्रा गरे । भन्छन्, ‘उनको आँखा र स्वरले गर्ने सम्प्रेषण निक्कै बलियो लाग्छ । उनका अन्तर्वार्ता पढ्दा लाग्छ, उनी वैचारिक हिसाबले पनि आकर्षक लाग्छन् तर अरुमाथि हाबी नहुने र अरुमाथि आफ्नो विचार नलाद्‌ने किसिमका ।’

इरफान : जसको थियो बेग्लै शैली
इरफान सन् २०१८ देखि न्युरोएन्डोक्रेन ट्युमरबाट पीडित थिए । जतिखेर दिल्लीमा हामी कुरा गर्दै थियौं, त्यो रोगले उनको शरीरमा कब्जा जमाउन सायद सुरु गरिसकेको थिएन । बडो जीवन्त भेट थियो त्यो । र, जहाँ जुन चौरको कुनामा इरफान र सुनीलसँग मैले सान्ध्यसंवाद गरेको थिएँ, त्यहाँ यौटा रूख हावाले हल्लाइरहेको थियो, बत्तीमा टल्किरहेको थियो । कुरैकुरामा इरफानले सुनीलसँग भने, ‘हामी नाटक पढ्दाका दिनहरूमा पनि यही रूखमुनि बसेर बसेर दु:ख–सुखका गफ गर्थ्यौं, याद छ ?’

सायद सुनीललाई याद होला, र सायद त्यो रूख अझै त्यहीँ उभिइरहेको होला । तर, रूखमुनि बसेर आफ्ना दु:ख-सुख सुनाउन इरफान यस संसारमा रहेनन् । कान्तिपुर दैनिकमा खबर छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here