उदयपुरको भुल्केमा कोरोनासँगै ठेउलाको संक्रमण

काठमाडौं, १७ वैशाख ।
मुलुकभरका कोरोना भाइरस संक्रमितमध्ये आधाभन्दा बढी एकै गाउँमा देखिएपछि चर्चामा आएको उदयपुरको त्रियुगा नगरपालिका-३, भुल्केमा ठेउला (चिकन पक्स)को संक्रमण बढेको छ । हालसम्म ५ जनामा ठेउला देखिएको छ ।
भुल्केमा २८ जनामा कोरोना संक्रमण देखिएको पुष्टि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको थियो । कोरोना परीक्षणका लागि गएको स्वास्थ्य टोलीले परीक्षणका क्रममा ठेउलाको संक्रमण बढेको जनाएको छ ।
स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले भुल्के क्षेत्रमा ५ जनामा ठेउला संक्रमण देखिएको बताए ।
ठेउला रोग तीव्र रुपमा सर्ने उल्लेख गर्दै उनले भने, ‘धेरैको ध्यान कोरोनातर्फ गइरहेका बेला कतै ठेउला कतै औलो देखिएको छ। कोरोनासँगै अन्य सरुवा रोगतर्फ पनि ध्यान दिनुपर्ने आवश्यकता देखिएको छ ।’
सुदूरपश्चिमका क्वारेन्टाइनमा औलो संक्रमण देखिएको साता नबित्दै उदयपुरमा ठेउला देखिएपछि स्वास्थ्य अधिकारीले कोरोनासँगै अन्य सरुवा रोगतर्फ पनि सतर्कता देखाउनुपर्ने आवश्यकता महसुस गरेका छन् । भारतबाट आई सुदूरपश्चिमको क्वारेन्टाइनमा बसिरहेका १५ जना व्यक्तिमा औलो देखिएको थियो । लामखुट्टेको टोकाईबाट औलो रोग लाग्छ। औलो र ठेउला गर्मी मौसममा देखा पर्ने गरेको छ ।
डा. पाण्डेका अनुसार ठेउलाको संक्रमण भर्सेला जोस्टर भाइरसले गराउँछ । रोग नियन्त्रण महाशाखा निर्देशक डा. पाण्डेले भने, ‘बिरामीको खोकी एवं थुकको छिटाबाट ठेउला सर्न सक्छ । श्वासप्रश्वासको माध्यमबाट पनि सर्न सक्छ। ठेउलाको संक्रमणबाट बिरामीको मृत्यु हुने जोखिमसमेत हुन्छ ।’ ठेउलाको संक्रमणले निमोनिया गराउने र स्नायु प्रणालीमा गम्भीर असर पुर्‍याउने जोखिम हुन्छ ।
त्रिवि शिक्षण अस्पतालका सहप्राध्यापक डा. निरज बमका अनुसार ठेउला संक्रमित व्यक्ति सुतेको ओच्छयानमा सुत्दा तथा एवं लुगा लगाएको अवस्थामा स्वस्थ व्यक्तिलाई पनि संक्रमणको डर हुन्छ । ‘ठेउला संक्रमित व्यक्तिसँगै बस्दा तथा अंकमाल गर्दा पनि संक्रमण हुने डर हुन्छ ।’ डा. बमले भने। ठेउलाको जटिलताले निमोनिया, इन्सेफलाइटिस समेत गराउन सक्छ । ठेउलाको भ्याक्सिन नलिएका व्यक्तिलाई जोखिम बढि हुन्छ ।
आजको अन्नपूर्ण पोष्टबाट

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here