कोरोना अपडेटः सिंगापुरमा १३ हजार संक्रमित

एजेन्सी, १६ वैशाख
कुनै समय कोरोना भाइरस रोक्न सफल भएको भन्दै सिंगापुरको प्रशंसा भएको थियो । ५० लाख जनसंख्या रहेको सिंगापुर सबै देशको ट्रान्जिट भएर पनि कोरोना रोक्न सफल भएको भन्दै विश्वभर प्रशंसा सेलाउन नपाउँदै नयाँ हटस्पटको रुपमा विकास हुने खतरा बढेको छ ।
अहिले सिंगापुरमा तीव्र गतिमा कोरोना संक्रमण फैलन थालेको छ । सिंगापुरमा अहिले १३ हजार संक्रमित पुगेका छन् । चीन र भारतपछि अहिले सबैभन्दा धेरै संक्रमित भएको एशियाको देशको रुपमा सिंगापुर सामुन्ने आएको छ । यी दुई देशको जनसंख्या एक अर्बभन्दा माथि छ ।
उनीहरुको तुलनामा सिंगापुरमा धेरै संक्रमण फैलिएको पाइएको छ । सिंगापुर सरकारले अहिले हरेक दिन हजारौं मानिसमा कोरोना परीक्षण गर्न सुरू गरिसकेको छ । यसरी परीक्षण गरिनेमा धेरै प्रवासी मजदुर रहेका छन् । सिंगापुरमा कन्स्ट्रक्सनको काम गर्न दक्षिण एशियाका देशहरुबाट हजारौंको संख्यामा मजदुर यहाँ आउने गर्दछन् ।
यसरी आएका मजदुरहरु साझा कोठामा बस्ने भएकाले उनीहरुबाट कोरोना भाइरस तीव्र रुपमा फैलिएको आशंका गरिएको छ । आइतबारमात्र सिंगापुरमा ९ सय ३१ नयाँ संक्रमित देखिएका थिए। यसरी संक्रमित हुनेहरूमा प्रायः बाहिरबाट आएका मानिसहरु रहेका छन् । यहाँका स्थानीय निवासी भने १५ जना नयाँ बिरामी देखिएका छन् ।
सिंगापुरले टेस्टिङ बढाउने तयारी गरेको छ । प्रधानमन्त्री ली सीन लुंगले देशभित्रै किट बनाउने र बाहिरबाट आयात गर्ने कार्य भइरहेको बताए । सिंगापुरमा मंगलबार बिहानसम्म १४ हजार ४ सय संक्रमित छन् । सिंगापुरमा हालसम्म १४ जनाले मात्र ज्यान गुमाएका छन् ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here