
उदयपुर, १० बैशाख ।
प्रदेश–१ मा मंगलबार एकैदिन ११ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै यहाँ संक्रमितको संख्या २४ पुगेको छ । उनीहरू सबै त्रियुगा नगरपालिका–३ भुल्केस्थित नुरी मस्जिदमा बसेका भारतीय र आसपासका बासिन्दा हुन् ।
यसअघि वैशाख ५ गते ११ भारतीय र उनीसँगै रहेका दुई नेपालीमा कोरोना संक्रमण पुष्टि भएको थियो । मंगलबार थपिनेमा क्रमशः वर्ष १८, १८, २९, ३३, ४०, ४१, ४१, ५२ र ५८ का पुरुष, वर्ष ३६ की महिला र अर्की उमेर नखुलेकी महिला छन्। उनीहरू भने मस्जिद आसपासका बासिन्दा हुन् ।
मस्जिदमा बसेका भारतीय र नेपाली गरी १३ जनामा कोरोना पुष्टि भएपछि त्यस क्षेत्रका बासिन्दा र उनीहरूसँग सम्पर्कमा रहेकाहरूको स्वाब नमुना संकलन गरिएको थियो। त्यसपछि विराटनगरस्थित कोसी अस्पताल र काठमाडौं टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला परीक्षण गरिएको थियो ।
विराटनगरमा सोमबार र मंगलबार ८ जनामा कोरोना पोजिटिभ भेटिएपछि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठामा थप परीक्षण गरिएको थियो । विराटनगरमा संक्रमण पुष्टि भएकालाई उपस्थित गराएरै धरानमा परीक्षण गर्दा पोजिटिभ देखिएको हो । उनीहरूलाई मंगलबार एम्बुलेन्समा राखेर धरान पुर्याइएको थियो ।
सेनाले संकलन गरेको बाँकी तीन जनाको स्वाब भने टेकुमा परीक्षण गर्दा कोराना पुष्टि भएको प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले बताए । ‘प्रदेश १ मा संक्रमितको संख्या २४ पुगेको छ’, मन्त्री घिमिरेले भने, ‘सबै उदयपुरबाट स्वाब संकलन गरी पीसीआर परीक्षण गरिएका हुन् ।’
प्रदेश जनस्वास्थ्य प्रयोगशाला र सेनाको छाउनी अस्पतालबाट आएको चिकित्सकका छुट्टाछुट्टै टोलीले तीन दिन लगाएर ३ सय २१ जनाको स्वाब संकलन गरी लगेका थिए । काठमाडौं लगेको स्वाब परीक्षणमा अझै संक्रमित थपिने सम्भावना रहेको चिकित्सक बताउँछन् । ६९ जनाको स्वाब परीक्षण भने विराटनगरस्थित कोसी अस्पतालमा भइरहेको छ । ९ वटा स्वाब त्यस क्षेत्रमा खटिएका सुरक्षाकर्मीको हो ।
भुल्के क्षेत्रमा ५२ घर छन् । प्रहरीले सबै सिल गरेको छ । यस क्षेत्रमा ६ सय जनसंख्या रहेको प्रशासनको तथ्यांक छ । यसअघि मस्जिदभित्र रहेकामा मात्रै कोरोना देखिएकामा मंगलबार भने बाहिरका बासिन्दामै संक्रमण पुष्टि भएको छ । कोरोना कसरी संक्रमण भयो भनेर तनावको विषय बनेको छ ।
भुल्केमा दुई जना विदेशबाट आएका युवक पनि रहेको खुलेको छ । मस्जिदमा जानेआउने गरेकाले उनीहरूबाट सरेको हो कि भन्ने आशंकामा अनुसन्धानसमेत भइरहेको प्रहरीले जनाएको छ । ती युवक पनि मंगलबार संक्रमण पुष्टि भएकामै पर्छन् । उनीहरूमध्ये १ जना यूएईको दुबई र अर्का भारतको दिल्लीबाट आएको बताइएको छ ।
आजको अन्नपूर्ण पोष्टबाट









