एन्फा मुख्यालय अब क्वारेन्टाइन

काठमाडौं, ६ वैशाख ।
सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको एकेडेमी भवन अब क्वारेन्टाइनका लागि प्रयोग गरिने भएको छ । ललितपुर महानगरपालिकाले एकेडेमी भवनलाई क्वारेन्टाइनको रूपमा प्रयोग गर्न लागेको हो ।
महानगरपालिकाले एन्फासँग क्वारेन्टाइनका लागि भवन मागेपछि प्रयोगका लागि दिएको एन्फाले जनाएको छ। कोरोनाविरुद्ध लड्नका लागि यसअघि नै एन्फाले आफू मातहतका भौतिक संरचना प्रयोग गर्न दिने निर्णय गरेको थियो ।
एन्फा मुख्यालयमा क्वारेन्टाइन निर्माण गर्न ललितपुर महानगर र जिल्ला प्रशासन कार्यालयका प्रतिनिधिले समेत निरीक्षण गरेका छन् । एन्फाले खेलाडी होस्टल, स्वास्थ्य परीक्षण र एकडेमीको भान्छा कोठासहित १७ वटा कोठा क्वारेन्टाइनका लागि उपलब्ध गराएको छ ।
एन्फाले उपलब्ध गराएको कोठालाई महानगरले आइतबारदेखि क्वारेन्टाइनका रूपमा प्रयोग गर्नेछ । महानगरले एकेडेमीको क्वारेन्टाइनमा २० जना मानिसलाई राख्ने तयारी गरेको पनि एन्फाले जनाएको छ ।
एन्फाले एक साताअघि मात्र ललितपुर महानगरपालिकालाई दुई वटा एम्बुलेन्स पनि सहयोग उपलब्ध गराएको थियो । एन्फाले कोरोनाको जोखिम नसकिएसम्म प्रयोग गर्न ललितपुरलाई एम्बुलेन्स प्रदान गरेको हो ।
विश्व फुटबल महासंघ (फिफा) फरवार्ड प्रोजेक्टअन्तर्गत खरिद गरिएको उक्त एम्बुलेन्स एन्फामै थन्किएको थियो । महानगरले कोरोनाको संक्रमण सकिएपछि एम्बुलेन्स एन्फालाई नै फिर्ता गर्नेछ ।
हाल एन्फाअन्तर्गत रौतहटमा रहेको महिला फुटबल एकेडेमी भवन पनि क्वारेन्टाइनको रूपमा प्रयोग गरिएको छ ।
रौतहटमा ४० जना व्यक्ति उक्तलाई क्वारेन्टाइनमा राखिएको छ । कोरोना भाइरसका कारण नेपाली फुटबलका सबैखाले गतिविधि स्थगित भएको छ । एन्फाले कोरोनाका कारण ‘बी’ डिभिजन लिग बीचमै स्थगित गरेको थियो ।
आजको अन्नपूर्ण पोष्टबाट

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here