
काठमाडौं, ५ बैशाख ।
खाडी राष्ट्रमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढेपछि ती मुलुकले फरक–फरक निर्णय लिइरहँदा कामदार पठाउने नेपालजस्ता मुलुकको नेतृत्व अन्योलमा परेका छन् । करिब ३ लाख नेपाली रहेका युनाइटेड अरब इमिरेट्स (यूएई) र ६० हजारभन्दा बढी नेपाली कामदार रहेको कुवेतको घोषणाले नेपाल मात्र होइन, अन्य मुुलुक पनि समस्यामा परेका हुन् ।
साउदी अरेबिया, कतार, यूएई, बहराइन, ओमान र कुवेतमा यतिबेला करिब २० हजार संक्रमित रहेको तथ्यांक आइरहँदा उनीहरू आफ्ना नागरिकको सुरक्षाका लागि अनेक निर्णय लिन थालेका छन् । यस्तो निर्णयले कैयन् नेपालीले रोजगारी गुगाएका छन् । बिदामा रहेकाहरू घर फर्कन पाएका छैनन् । घुम्न पुगेकाहरू त्यहीँ अड्किएका छन् ।
अधिकांश कम्पनी बन्द भएकाले नेपालीहरू कोठामै बसिरहेको र कतिपयको त जागिरसमेत गुमेकाले हातमुख जोर्नै गाह्रो भएको छ । रोजगारी गुमाएका विदेशी नागरिक छिट्टै आफ्नो मुलुक फर्किऊन् भन्ने खुला धारणा यूएईले बाहिर ल्याए पनि अन्य मुलुकले त्यसलाई पछ्याउने भएकाले यसमा सरकारले व्यवस्थापनको बाटो तय गर्न आवश्यक देखिन्छ ।
यूएईले बेरोजगार भएका र घर फर्कन चाहने आफ्ना नागरिकलाई फिर्ता लैजान कामदार पठाउने मुलुकलाई आग्रह गरेको छ । त्यहाँ रहेका नेपाली पनि स्वदेश फर्कन पाऊँ भनिरहेका छन् । यूएई सरकारको निर्णय सञ्चार माध्यममा आएपछि सरकार अन्योलमा परेको हो । यद्यपि, सरकारलाई भने कूटनीतिक च्यानलमार्फत त्यो प्रकारको कुनै जानकारी नआएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
‘हामी हाम्रा नागरिकबारे गम्भीर छौं । छलफल भइरहेका छन्। सरकार प्रमुख र परराष्ट्रमन्त्रीले पनि सम्बन्धित मुलुकमा कुरा गरिरहनुभएको छ,’ परराष्ट्रका प्रवक्ता भरतराज पौड्यालले भने, ‘यूएई सरकारको निर्णयबारे हामीलाई पत्राचार भएको छैन । यसबारे बुझ्ने काम भइरहेको छ ।’
खाडीमा सबैभन्दा बढी नेपाली साउदी अरेबियामा छन् । त्यसपछि कतार, यूएई, कुवेत, बहराइन र ओमानमा छन् । त्यसबाहेक पश्चिम एसियाका अन्य दूतावास इजिप्टअन्तर्गत नै १८ मुलुक (लेवनान, जोर्डन, अफ्रिकी मुलुक) छन् । ती सबै मुलुकमा कोरोना संक्रमित छन् । त्यहाँ पनि सबै मुलुकमा ४० हजार हाराहारीमा नेपाली छन् । त्यस्तै, इजरायलमा पनि साढे ३ हजार नेपाली छन् भने उनीहरू वृद्धालाई स्याहार सुसार गर्छन् । जसकारण जोखिम उत्तिकै छ । इजरायलले साइप्रससमेत हेर्ने हुनाले साइप्रसका नेपाली पनि स्वदेश फर्कन खोजेका छन् ।
नेपालले उनीहरूलाई त्यहाँको सरकारसँग समन्वय गरेर व्यवस्थित ढंगले राख्न नसक्ने र पर्कन पनि नदिने अवस्था आए ती नेपाली राज्यविहीनझैँ अनुभव गर्ने अधिकारी बताउँछन् । पश्चिम एसियाका सबै मुलुकमा करिब १५ लाख नेपाली छन् । ती सबैमा करिब एक सय नेपाली संक्रमित भइसकेका छन् ।
अन्नपूर्ण पोष्टमा खबर छ ।









