
काठमाडाैं, ३ बैशाख ।
र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) ले काभ्रेपलाञ्चोक, धादिङ, गोरखा र सप्तरीमा गरी पाँचजनामा कोरोना संक्रमण देखाएको छ । काभ्रेका एकजनाको रिपोर्ट शंकास्पद आएको छ ।
काभ्रेको बेथानचोक ५ च्यासिङखर्कका २८ वर्षीय युवकको आरडिटीका क्रममा कोरोना पोजेटिभ पाइएको स्वास्थ्य शाखा प्रमुख सीताराम तिमल्सिनाले जानकारी दिए । उनी चैत ९ गते भारतबाट आएका थिए । ‘हामीले चैत ३० गते र वैशाख १ गते दुईदुईजनाको र मंगलबार ९ जनाको आरडिटी गरेका थियौं । यीमध्ये एकजनाको कोरोना पोजिटिभ देखियो’, उनले भने । ती युवकलाई धुलिखेल अस्पताल पठाइएको छ।
आरडिटीमा संक्रमित देखिएका युवकसँगै अन्य दुईजना पनि भारतबाट फर्केका थिए । तर उनीहरुको भने नेगेटिभ नतिजा आएको तिमल्सिनाले बताए । बेथानचोक गाउँपालिकामा चैत महिनाभरमा भारतलगायतका मुलुकबाट २० जना आएका गाउँपालिकाको अभिलेखमा उल्लेख छ । र्यापिड टेस्टले काभ्रे, धादिङ, गोरखाका एकएकजना र सप्तरीका दुईजनामा कोरोना संक्रमण पोजेटिभ देखाएको छ ।
यस्तै मण्डनदेउपुर नगरपालिका–३ का २३ वर्षीय युवकको मंगलबार आरडिटी परीक्षण हुँदा शंकास्पद नतिजा आएको भन्दै उनलाई धुलिखेल अस्पताल पठाइएको छ । उनी चैत ७ गते दुबईबाट फर्केका थिए । १७ दिनसम्म नगरपालिकाकै क्वारेन्टाइनमा बसेर कुनै लक्षण नदेखिएपछि उनी घर गएका थिए । आरडिटी परीक्षणका क्रममा २० मिनेटमा नतिजा आउनुपर्नेमा नआएपछि शंकास्पद मान्दै उनलाई धुलिखेल पठाइएको परीक्षणमा संलग्न स्वास्थ्यकर्मीले जानकारी दिए ।
काभ्रेपलाञ्चोकमा फागुन ३० गतेयता भारतलगायतका तेस्रो मुलुकबाट २ सय ५१ जना फर्केका अभिलेख छ । पहिलो चरणमा विदेशबाट फर्केकाहरुको आरडिटी परीक्षण थालिएको हो। मंगलबारसम्ममा १ सय ९१ जनाको आरडिटी सकिएको छ ।
यसैबीच काठमाडौंको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टबाट सोमबार धुलिखेलस्थित घरमा आएका युवकको आरडिटी परीक्षण नेगेटिभ आएको छ । उनको स्वाब पिसिआर परीक्षणका लागि धुलिखेल अस्पताल पठाइएको छ। उनलाई घरमै सुरक्षाकर्मीको निगरानीमा राखिएको काभ्रे स्वास्थ्य कार्यालय प्रमुख डा. नरेन्द्रकुमार झाले जानकारी दिए ।
यसैगरी धादिङका २७ वर्षीय एक पुरुषमा पनि कोरोना पोजेटिभ भेटिएको छ। जिल्लाको ज्वालामुखी गाउँपालिका वडा नं. ३ स्थित मैदी स्वास्थ्यचौकीमा मंगलबार गरिएको आरडिटीले ती युवकमा कोरोना पोजेटिभ देखाएको हो । उनी गत फागुन २० गते दक्षिण कोरियाबाट फर्किएर होम क्वारेन्टाइनमा बसेका थिए । उनको स्वास्थ्य अवस्था सामान्य छ ।
ती युवक हेटौंडामा रहेको युनिभर्सल पिस फेडेरेसनमा कार्यरत छन् । गत फेबु्रअरी २ मा अफिसको कार्यक्रमको सिलसिलामा उनीसहित १०/१२ जनाको टोली दक्षिण कोरिया पुगेको थियो ।
एकमहिना बसेर फागुन २० गते फर्किएपछि उनी सीधै हेटौंडा पुगेका थिए । हेटौंडाबाट चैत ३ गते धादिङ फर्किएका उनी होम क्वारेन्टाइनमा बसिरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले बताए । ‘घरमासुरक्षित तरिकाले बसिरहेका ती युवकमारुघाखोकी, ज्वरोजस्तो केही पनि छैन ।’ एकसाताअघि रुखाखोकी लागेर घाँटी पनि दुखेपछि उनले टेकु अस्पतालका स्वास्थ्यकर्मीसँग फोनमा परामर्श गरेका थिए ।
नागरिक दैनिकमा खवर छ ।









