कोरोना भाइरसको कारण कामका लागि चीन पुगेका डेढ सय नेपाली अलपत्र

काठमाडौं २८ फागुन
कामका लागि चीनको ताक्लाकोट पुगेका करिब डेढ सय जना नेपाली कोरोना संक्रमणको त्रासले घर फर्कन चाहे पनि नाका बन्द भएका कारण अलपत्र परेका छन् ।
उनीहरूले उद्धारका लागि पहल गरिदिन जिल्ला प्रशासन कार्यालयमा पत्र पठाएका छन् । कोरोना संक्रमणकै कारण दुवै देशको सहमतिमा हिल्सा नाका बन्द छ ।
प्रमुख जिल्ला अधिकारी विनिता भट्टराईले ताक्लाकोटमा रहेको कैलाश ट्रेड सोसाइटीका नामबाट चिठी प्राप्त भएको बताइन् । गृह मन्त्रालयसँग यसबारे मौखिक रूपमा आवश्यक निर्देशन माग गरे पनि जवाफ नआएकाले उद्धारको पहल हुन नसकेको उनले बताइन् ।
चिठीमा नेपाल फर्कन चाहने १ सय ४८ जनाको नाम छ । सोसाइटीका उपाध्यक्ष लामो लामाले पठाएको पत्रमा नाम्खा र सिमकोटका बासिन्दा थुक्तेन लामा, रोक्तान लामा, कार्मा तुन्डुप लामा, राजु लामा, पर्विता लामा, सम्ब श्रेष्ठ, जंगबहादुर शाही, गणेशबहादुर लामा, अणु लामा, छिरिङ म्याम्लो लामा, अनु लामा र संगीता बुढालगायत छन् ।
हुम्लासँग सीमा जोडिएको ताक्लाकोटमा बर्सेनि जेठमा कामका लागि नेपाली जाने गर्छन् । उनीहरू मंसिरमा फर्कने गरे पनि कतिपय अस्थायी रूपमा त्यतै बस्छन् ।
तिनै अस्थायी बसोबास गर्ने कामदार अहिले फर्कन खोजेका हुन् । उपाध्यक्ष लामाले जिल्ला प्रशासनमा चिठी पठाउनुका साथै उद्धारको पहल गरिदिन हुम्लाका सांसद छक्कबहादुर लामासँग पनि अनुरोध गरेकी छन् । ‘उनले मलाई निरन्तर फोन गरिरहेकी छन्,’ सांसद लामाले भने, ‘मैले पनि सरकारी निकायमा कुरा राखें, तर पहल भएको छैन ।’

आजको कान्तिपुरबाट

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here