बालविवाह रोक्न डुडुवा गाउँपालिकाले कन्या मुद्दती खाता खोलिदिने

43

नेपालगन्ज, २ फागुन ।
बाँकेका दुई स्थानीय तहले बालविवाह रोक्न मुद्दती खाता र बिमा योजना ल्याएका छन् । २० वर्ष उमेर भएपछि मात्र विवाह गर्नुपर्ने कानुनी व्यवस्थालाई मूर्त रूप दिन डुडुवा गाउँपालिकाले चालु आर्थिक वर्षदेखि कन्या मुद्दती शिक्षा कोषको व्यवस्था गरेको हो ।
एक तथ्यांकअनुसार डुडुवा गाउँपालिकामा पुरुष बालविवाह ८३.१६ प्रतिशत र महिला ५०.२२ प्रतिशत छ । कोषमा २९ लाख रुपैयाँ राखिएको छ ।
गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख धनबहादुर बुढा भन्छन्, ‘पाँच हजार रुपैयाँ गाउँपालिकाको र थप पाँच हजार रुपैयाँ अभिभावकको गरी १० हजार रुपैयाँको मुद्दती खाता खोलिन्छ । २० वर्षे मुद्दती खातामा राख्दा रकम झन्डै ७३ हजार रुपैयाँ हुन आउँछ ।’
गाउँपालिकाले कोष सञ्चालनका लागि कन्या मुद्दती शिक्षा कोषको व्यवस्था तथा सञ्चालनसम्बन्धी कार्यविधि २०७६ स्वीकृत गरेको छ । कार्यविधिमा अभिभावक वा कन्या स्वयंले २० वर्ष नपुग्दै विवाह गरे–गराएमा कोष निष्क्रिय हुने र रकम भुक्तानी नहुने व्यवस्था छ ।
बालिकालाई सम्पूर्ण खोप दिनुपर्ने, पाँच वर्ष पुग्नेबित्तिकै विद्यालय भर्ना गर्नुपर्ने, कम्तीमा एसईईसम्म अध्ययन गराउनुपर्ने सर्त छन् । योजनामा आबद्ध कन्याको प्राथमिक स्वास्थ्य उपचार निःशुल्क हुनेछ । गत साउनमा जन्मेका सबै कन्याले यो सुविधा पाउनेछन् । अहिलेसम्म १२ जनाले यो सुविधा लिएका छन् ।
नेपालगन्ज उपमहानगरपालिकाले पनि कन्या बिमा कार्यक्रमको तयारी गरिरहेको छ । २० वर्षे बिमा कार्यक्रममा उपमहानगर र अभिभावक दुवैको दायित्व हुनेछ ।
‘२० वर्षपछि छोरीलाई उच्चशिक्षा पढाउँदा वा बिहे गर्दा पैसा खाँचो हुन्छ भनेर यो योजना लागू गर्न लागेका हौं’, उपप्रमुख उमा थापामगरले नेपालगन्ज–२१ पुरैनामा आयोजित अभिभावक भेलामा भनिन्, ‘तपाईं छोरीलाई बोझ नठानिदिनुस् । २० वर्ष नपुग्दै बिहे गर्ने कुरा नगर्नुस् । छोरीलाई स्कुल मात्र पठाइदिनुस् । हामी छोरीको बिमा गरेर सहयोग गर्न तयार छौं ।’
नेपालगन्जमा १९ वर्षमुनिका महिला बालविवाह ८३.१६ प्रतिशत र पुरुष बालविवाह ५२.६३ प्रतिशत रहेको स्याकको बालविवाह रोकथाम परियोजना प्रबन्धक जगदीश थापा बताउँछन् । स्याकले बाँकेका आठै स्थानीय तहमा सन् २०१९ मा बालविवाहको अवस्थाबारे अध्ययन गरेको थियो ।

आजको अन्नपूर्ण पोष्टबाट ;fef/ .

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here