राष्ट्रियसभाको १८ सदस्यका लागि आज मतदान हुँदै

काठमाडौं, ९ माघ ।
राष्ट्रिय सभाका एकतिहाई सदस्यको निर्वाचनअन्तर्गत बिहीबार बिहान १० बजेदेखि अपराह्न चार बजेसम्म मतदान हुँदैछ । सातवटै प्रदेशबाट गरी १८ जना राष्ट्रिय सभा सदस्यमा निर्वाचित हुने छन् ।
निर्वाचनमा पाँच सय ५० प्रदेशसभा सदस्य ९सातै प्रदेश० र एक हजार पाँच सय ६ स्थानीय तहका प्रमुख, उपप्रमुख गरी दुई हजार ५६ मतदाता छन् । निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तहका प्रमुख, उपप्रमुखको मतभार १८ हुनेछ ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत मतदानका लागि सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए ।
‘मतपत्र, निर्वाचन सामग्री, कर्मचारीलगायत सबै मतदान केन्द्र र मतदान स्थल पुगिसकेका छन्,’ प्रमुख आयुक्त थपलियाले भने, ‘ढुक्क भएर मताधिकार प्रयोग गर्न मतदातालाई आग्रह गर्छु ।’
आयोगले स्वच्छ, निष्पक्ष र धाँधलीरहित रुपमा निर्वाचन सम्पन्न गराउन आचारसंहिताको पूर्ण पालना गर्न राजनीतिक दल, उम्मेदवार र सरोकारवाला सबैलाई आग्रह गरेको छ ।
आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि प्रदेश १ मा मोरङको विराटनगर, प्रदेश २ मा धनुषाको जनकपुर, बागमती प्रदेशको ललितपुरको जाउलाखेल, गण्डकी प्रदेशको कास्कीको पोखरा, प्रदेश ५ को दाङको घोराही, कर्णाली प्रदेशको सुर्खेतको वीरेन्द्रनगर र सुदूरपश्चिम प्रदेशको डोटीको सिलगढीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ ।
निर्वाचन कार्यतालिका अनुसार बिहीबार बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म मतदान हुने र मतपेटिका मतदान अधिकृतबाट निर्वाचन अधिकृतको कार्यालयमा प्राप्त भएपछि गणना सुरु गरिनेछ ।
निर्वाचनमा प्रदेशसभा सदस्यले मतदान गर्ने प्रयोजनका लागि सेतो कागजमा हरियो रङ्को मसीले विवरण र निर्वाचन चिह्न तथा स्थानीय तहका सदस्यले मतदान गर्ने प्रयोजनका लागि सेतो कागजमा रातो रङ्को मसीले विवरण र निर्वाचन चिह्न उल्लेख गरी ६ हजार दुई सय ६० थान मतपत्र छपाई निर्वाचन हुने समूह र मतदाताको आधारमा मतदान केन्द्रमा पठाइएको आयोगले जनाएको छ ।
राष्ट्रिय सभामा रिक्त हुने १९ सिटमध्ये १८ जना बहुमतीय प्रणालीबाट चयन हुने आयोगले जनाएको छ । १८ सिटका लागि विभिन्न दलका गरी ४५ जना उम्मेदवार छन्। एक सिटमा सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्नेछन् ।
निर्वाचन हुने १८ पदमध्ये महिला समूहबाट सात, दलितबाट दुई, अपांग र अल्पसंख्यकबाट दुई र खुलातर्फ सातजना छन् ।
जसमध्ये प्रदेश १ बाट महिला, दलित र अन्य समूह गरी तीन, प्रदेश २ बाट महिला, दलित र अपांगता वा अल्पसंख्यक भएका र अन्य समूह गरी चार जना, बागमती प्रदेशबाट महिला र अन्य समूह गरी दुई, गण्डकी प्रदेशबाट महिला र अन्य समूह गरी दुई, प्रदेश ५ बाट महिला, अपांगता वा अल्पसंख्यक भएका समुदाय र अन्य गरी तीन, कर्णाली प्रदेशबाट महिला र अन्य समूह गरी दुई र सुुदूरपश्चिम प्रदेशबाट महिला र अन्य समूह गरी दुईजना निवार्चित हुने छन् ।
५९ सदस्यीय राष्ट्रिय सभामा ५६ निर्वाचित र तीनजना सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित हुने व्यवस्था छ । अहिले राष्ट्रिय सभा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का ४२, प्रमुख प्रतिपक्षी दल कांग्रेसका १३, समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीका दुई/दुई जना सदस्य छन् ।
आजको नागरिक दैनिकमा प्रकाशित

२०७६ माघ ९ गते प्रकाशित

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here