मन्त्री बनाउने आश्वासनपछि राजीनामा दिएकी थिइन तुम्बाहाम्फेले

काठमाडौं, ७ माघ ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले निवर्तमान उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई मन्त्री बनाउने तथा पार्टीभित्र उचित जिम्मेवारी दिने आश्वासन दिएका छन् ।
उपसभामुख पदबाट राजीनामा दिनुअघि सोमबार बिहान बालुवाटारमा बोलाएर दुवै अध्यक्षले उनलाई नयाँ जिम्मेवारीको आश्वासन दिएका हुन् ।
दुई अध्यक्षले संसदीय दलका उपनेता सुवास नेम्बाङ र पार्टी महासचिवलाई समेत सँगै राखेर आश्वसन दिएको स्रोतले बतायो । दुई अध्यक्षसँगको भेटपछि तुम्बाहाम्फेले पदबाट राजीनामा दिएकी हुन् । बालुवाटारबाट नेम्बाङसँगै फर्केकी तुम्बाहाम्फे लामो समयसम्म उनैसँग छलफलमा बसेकी थिइन् ।
पार्टी महासचिव विष्णु पौडेलले तुम्बाहाम्फेलाई केन्द्रीय सदस्यको जिम्मेवारी दिइने बताए । ‘उहाँलाई पहिला केन्द्रीय सदस्यको जिम्मेवारी दिइनेछ त्यसपछि सार्वजनिक राजकीय जिम्मेवारी पनि पाउने सम्भावना छ’, पौडेलले भने ।
अहिले कानुन मन्त्रालयको जिम्मेवारी स्वास्थ्यमन्त्रीसमेत रहेका भानुभक्त ढकाल र सहरी विकास मन्त्रालयको जिम्मेवारी सूचना तथा प्रविधि मन्त्रीसमेत रहेका गोकुल बाँस्कोटाले पाएका छन् ।
तुम्बाहाम्फेलाई ती दुईमध्ये एक मन्त्रालयमा जिम्मेवारी दिएर पठाउने नेकपा स्रोतले जनाएको छ । ‘एक साताभित्रै जिम्मेवारी दिने कुरा भएको छ । ढिलो भए सभामुख निर्वाचनको प्रक्रियालगत्तै उहाँलाई मन्त्री बनाइनेछ’, नेकपा स्रोतले भन्यो ।
बिहानको छलफलमा अध्यक्ष दाहालले पार्टीभित्र उचित जिम्मेवारी दिने आफ्नो दायित्व भएको र राजकीय जिम्मेवारी दिने दायित्व प्रधानमन्त्रीसमेत रहेका ओलीको भएको बताएका थिए ।

आजको नागरिक दैनिकबाट

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here