प्रजिअ बाहिरिएसँगै कर्मचारीलाई पारिलो घाम

काठमाडौं, ६ मंसिर ।
‘केहीबेर घामछायाँ कक्षमा जाऊ न त,’ बिहान १० बजे प्रमुख जिल्ला अधिकारी (प्रजिअ) जनकराज दाहाल कार्यालयबाट बाहिरिनेबित्तिकै कार्यकक्षमा भर्खरै पसेका केही कर्मचारी घाम ताप्न बाहिर निस्कन्छन् ।
राजधानीको बबरमहलस्थित जिल्ला प्रशासन कार्यालय काठमाडौँको परिसर वरपर बाक्लै सेवाग्राही हातहातमा कागजपत्र बोकेर कोठाहरू चहार्दैछन् तर केही कर्मचारी भने पारिलो घाममा आनन्द लिँदै बाहिरिएका र नवनियुक्त मन्त्रीहरूबारे समीक्षा गर्दैथिए ।
सेवाग्राहीको बाक्लो भीड लाग्न थालेपछि करिब आधा घन्टापछि कर्मचारी कार्यकक्ष प्रवेश भने गरे । कार्यालयका प्रायः सबै कोठा ९ः३० बजे नै खुलिसकेका थिए तर कार्यकक्षमा कर्मचारी नहुँदा सेवाग्राही १०ः२० बजेसम्म झ्यालबाहिर पालो कुरेर बसेका देखिन्थे ।
प्रशासन कार्यालयको ढोकामा भेटिनुभएका प्रजिअ दाहाल नवनियुक्त मन्त्रीको शपथ ग्रहणमा जान भन्दै ठीक १० बजे बाहिरिए । उनी निस्कनेबित्तिकै कार्यालयभित्र पस्दै गरेका कर्मचारीलाई पनि घाम ताप्ने बाटो खुल्यो । सेवाग्राहीले सेवा भने १०ः३० बजेपछि मात्र पाउन थालेका हुन् ।
१०० नम्बर कोठाको नागरिक सहायता कक्ष, १०१ नम्बरको नागरिकता शाखा, १०७ नम्बरको राहदानी शाखा र ११० नम्बरको संस्था दर्ता तथा नवीकरण शाखामा सेवाग्राहीको भीड १० बजे नै लाग्न थालिसकेको थियो ।
बिहान ९ बजेबाट साँझ ८ बजेसम्म कार्यालय बस्नु प्रजिअ दाहालको भने नियमित कार्य रहेछ तर बिहीबार बिहान १० बजे बाहिर निस्केपछि ४ बजेसम्म कार्यालय नआइपुगेको सो कार्यालयले जनाएको छ ।
अन्य दिन ९ बजे आइपुग्ने गरेका तीन जना सहायक प्रमुख जिल्ला अधिकारी बिहीबार भने ११ बजेपछि मात्र कार्यालयमा देखिए । सहायक प्रजिअ एवं प्रशासन कार्यालयका प्रवक्ता जीवनप्रसाद आचार्य र अर्का सहायक प्रजिअ गौलोचन सैँजू तालिमका कारण ११ः१५ मा आइपुगेको जानकारी दिए ।
अर्का सहायक प्रजिअ कृष्णबहादुर कटुवाल उनीहरूभन्दा १५ मिनेट ढिलो आइपुगे । उनको कार्यकक्षबाहिर भीड बढेपछि सेवाग्राहीलाई गौलोचनको कक्षमा पठाइएको थियो । कटुवालको कार्यकक्षबाहिर टाँसिएको नेम प्लेटमा भने भित्र नै देखाइएको थियो । “उहाँ किन ढिलो हुनुभयो, खबर भएन, हामी दुई जना तालिममा भएकाले ढिलो भयौँ,” प्रवक्ता आचार्यले भने ।
कटुवाल प्रजिअ दाहाल तथा सहायक प्रजिअद्वय सैँजु र आचार्यसँंग सम्पर्क नै नगरी कार्यालयमा ढिलो गरी आइपुगेको जानकारी पाइयो तर पनि सेवाग्राहीहरूले प्रशासन कार्यालयको कामकारबाही छिटो हुने गरेको बताएका छन् ।
कीर्तिपुरका सज्जन महर्जन बिहीबार डेढ घन्टामै नागरिकता बनेको भन्दै दङ्ग परे । उनी अघिलो दिन काम नभएर फर्किएका थिए । ‘हिजो कागजपत्र पुगेन भनेर फर्काइदियो, आज सबै कागजपत्र देखाएपछि चाँडै काम बन्यो,’ उनले खुसी व्यक्त गरे ।
त्यस्तै राहदानी बनाउन बिहान ९ बजे प्रशासन कार्यालय पुगेका जोरपाटीका धरमबहादुर सार्कीले पनि एक घन्टामै काम बनेको प्रतिक्रिया दिए । ‘आवश्यक कागजपत्र अपुग भएमा ढिलो हो, नभए त छिट्टै हुने रहेछ,’ उनले थपे ।

आजको गोरखापत्र दैनिकबाट

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here