
काठमाडौं, २ मंसिर ।
प्रधानमन्त्री केपी शर्मा ओलीले कालापानी क्षेत्रबाट भारतीय सेना हट्ने बताएका छन् ।
आफूहरूलाई अरूको एक इन्च जमिन नचाहिने र आफ्नो देशको एक इन्च पनि कसैलाई नछाड्ने प्रधानमन्त्री ओलीको भनाइ छ । उनले नेपालको भूमि कालापानी क्षेत्रमा राखेको सेना फिर्ता लैजान भारत सरकारलाई आग्रह गरेका छन् ।
‘अहिलेको सरकार नेपाल राष्ट्रको सरकार हो, देशभक्तको सरकार हो । यो सरकारले आफ्नो भूमि एक इन्छ पनि मिच्न दिँदैन’, राष्ट्रिय युवा संघ नेपालको एकता भेलामा आइतबार प्रधानमन्त्री ओलीले भने, ‘नेपालीलाई अरूको जमिनको लोभ छैन, हामीलाई अरूको जमिन चाहिँदैन । हाम्रो जमिनबाट छिमेकीले आफ्नो सेना फिर्ता लैजानुहोस् । हाम्रो जमिनमा सेना नराख्नुहोस् ।’
भारतले जारी गरेको राजनीतिक नक्सा मात्रै ठूलो कुरा नभई भूमि फिर्ता गराउने विषय सरकारको प्राथमिकता भएको उनले बताइ । ‘नक्सा अहिले नै सच्याउन सकिन्छ, नक्सोको मात्रै कुरा होइन, यो भूमिको कुरा हो’, उनले भने, ‘नक्सा त प्रेसमा छापिन्छ, एकछिनमा भइहाल्छ । यो भूमिको विषय हो, हामी भूमि फिर्ताको कुरा गरिरहेका छौं ।’
आजको अन्नपूर्ण पोष्टबाट









