उपनिर्वाचन तयारीमा दल : कसले मार्ला बाजी

काठमाडौं, १४ कात्तिक ।
कास्कीमा क्रियाशील राजनीतिक दल उपनिर्वाचनको तयारीमा जुटेका छन्। जिल्ला निर्वाचन कार्यालय कास्कीले निर्वाचन तयारी व्यापक बनाएसँगै दलहरू पनि यो अभियानमा जुटेका हुन् ।
जिल्ला निर्वाचन कार्यालयले कार्यतालिका टाँस गर्नुका साथै मतदाता नामावलीसमेत सार्वजनिक गरिसकेको छ । कास्की निर्वाचन क्षेत्र नम्बर २ मा मंसिर १४ गते संघी प्रतिनिधिसभा सदस्यका लागि निर्वाचन हुँदै छ । जिल्ला निर्वाचन कार्यालयले जिल्ला अदालतका प्रमुख न्यायाधीश काजीबहादुर राईलाई निर्वाचन अधिकृत तोकेको छ ।
निर्वाचनकै लागि काठमाडौंमा हुने निर्वाचनसम्बन्धी तालिममा जिल्ला निर्वाचन कार्यालयका अधिकारी महेन्द्रराज सुवेदी र निर्वाचन अधिकृत काजीबहादुर राई सहभागी हुने भएका छन् । तालिम बिहीबार र शुक्रबार हुँदैछ । निर्वाचन कार्यालय कास्कीले पनि निर्वाचनमा खटिने कर्मचारीका लागि तालिम दिने तयारी गरेको छ । निर्वाचन कार्यालयले मंसिर २/३ गते तालिम दिने तयारी गरेको निर्वाचन अधिकारी सुवेदीले जानकारी दिए । त्यस्तै यसै महिनाको अन्तिम साता मतदाता शिक्षा सञ्चालन गर्ने तयारी गरिएको छ ।
तत्कालीन पर्यटनमन्त्री एवं सांसद रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधन भएपछि रिक्त रहेको कास्की–२ मा ७१ हजार आठ सय ७१ मतदाता छन । यसअघिको निर्वाचनमा ७० हजार ६ सय ५१ मतदाता रहेको कास्की–२ मा अहिले एक हजार दुई सय २० जना थपिएर ७१ हजार आठ सय ७१ पुगेको जिल्ला निर्वाचन अधिकारी सुवेदीले जानकारी दिए ।
कास्कीमा निर्वाचनका लागि सुरक्षा चुनौती नरहेको जानकारी जिल्ला निर्वाचन अधिकारी सुवेदीले दिए । कास्की आफैंमा सुगम जिल्ला र त्यसमा पनि कास्की–२ सहरी क्षेत्र भएकाले पनि सुरक्षा चुनौती नरहेको उनको भनाइ छ । कास्कीमा सुरक्षा व्यवस्था मजबुत र सुरक्षाकर्मी पनि पर्याप्त रहेकाले सुरक्षामा कुनै कमी नहुने उनले बताए ।
कास्की–२ मा हुने निर्वाचनलाई बढो चासोका साथ हेरिएको छ। कास्की–२ मा नेकपाको बलियो स्थिति छ । अघिल्लो निर्वाचनमा स्वर्गीय अधिकारीले प्रतिस्पर्धी कांग्रेसका देवराज चालिसेलाई आठ हजार पाँच सय ४६ मतान्तरले पराजित गरेका थिए । अधिकारीले २७ हजार दुई सय सात मत र चालिसेले १८ हजार ६ सय ६१ मत प्राप्त गरेका थिए ।

आजको नागरिक दैनिकबाट

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here