
काठमाडौं, १४ कात्तिक ।
राष्ट्रिय क्रिकेट टोलीको कप्तानको जिम्मेवारी ज्ञानेन्द्र मल्लले पाएका छन् । ज्ञानेन्द्रको अनुभव, क्षमता र निरन्तरतालाई ध्यानमा राख्दै नेपाल क्रिकेट संघ (क्यान) ले बुधबार उनलाई राष्ट्रिय टोलीको कप्तान बनाउने निर्णय गरेको हो । उनले झन्डै एक दशकदेखि राष्ट्रिय टोलीमा उपकप्तानको भूमिका निर्वाह गर्दै अएका थिए ।
असोज २८ गते पारस खड्काले कप्तानबाट राजीनामा दिएपछि उक्त पद रिक्त थियो । करिब एक दशक कप्तानको जिम्मेवारी निर्वाह गरेका पारसले सुरुमा सामाजिक सञ्जालमार्फत आफूले राजीनामा दिएको सार्वजनिक गरे पनि गत आइतबार मात्र क्यानलाई इमेलमार्फत राजीनामापत्र बुझाएका थिए ।
आधिकारिक रूपमा पारसको राजीनामा प्राप्त गरेपछि नै क्यानले ज्ञानेन्द्रलाई नयाँ कप्तानको रूपमा चयन गरेको हो । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले क्यानमाथि लगाएको निलम्बन फुकुवा गरेको एक दिनपछि नै पारसले कप्तान पदबाट राजीनामा दिएको घोषणा गरेका थिए । तीन वर्षभन्दा लामो समयदेखि नेपाली क्रिकेटमाथि लगाउँदै आएको निलम्बन आईसीसीले असोज २७ गते फुकुवा गरेको थियो ।
क्यानका सचिव अशोकनाथ प्याकुरेलले २९ वर्षीय ज्ञानेन्द्रलाई कप्तानको जिम्मेवारी दिइएको बताए । ‘लामो समय राष्ट्रिय टिम नेतृत्वविहीन हुनु राम्रो नभएकाले क्यानले तत्कालका लागि ज्ञानेन्द्रलाई जिम्मेवारी दिने निर्णय लिएको हो’, सचिव प्याकुरेलले भने ।
आजको अन्नपूर्ण पोष्टबाट









