नेकपाका अध्यक्ष ओली–दाहाल बीच खट्पट

file photo

काठमाडौं, ५ कात्तिक ।
सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहालकै बीचमा खटपट सुरु भएको छ ।
पार्टी एकताका क्रममा भएको पाँचबुँदे सहमतिभन्दा नयाँ समझदारी गर्नुपर्ने प्रस्ताव र कार्यकारी अधिकार दाहाललाई दिन ओलीले अनिच्छा देखाएपछि दुई अध्यक्षबीच विवाद देखा परेको हो ।
‘असमझदारी केही बढ्न थालेको छ, प्रधानमन्त्रीमा विगतका सहमति/समझदारीमा अडिने सवालमा केही समस्या देखा पर्न थालेको छ,’ दाहालनिकट स्थायी समिति सदस्य हरिबोल गजुरेलले भने, ‘पार्टीमा देखा पर्न थालेको असमझदारीका विषयमा उहाँहरू (ओली–दाहाल) केही दिनयता छलफलमै हुनुहुन्छ ।’
ओली र दाहाल सोमबार बिहान र साँझ गरी दुईपटक बालुवाटारमा भेटवार्ता भएको थियो। आइतबार पनि यी दुई नेताले छलफल गरेका थिए ।
दुई नेताबीच कार्यकारी अधिकार, सभामुख चयन, चिनियाँ प्रस्ताव ‘बीआरआई’ (बेल्ट एन्ड रोड इनिसिएटिभ) र अमेरिकी रणनीति ‘इन्डो प्यासिफिक’ लाई बुझ्नेलगायतका विषयमा एकरुपता छैन ।
विवाद बढ्दै जाँदा अहिले एकले अर्को नेताले दिएका अभिव्यक्तिका विषयमा खण्डन गर्ने र तिखो आलोचनामा उत्रने समेत गर्न थालेका छन् । ओलीका अभिव्यक्तिमा दाहालले र दाहालका अभिव्यक्तिमा ओलीले टिप्पणी गर्न थालेका छन् ।
ओलीनिकट एक नेताले दुई अध्यक्षबीचको छलफललाई मतभेदका रुपमा भन्दा पनि समझदारी निर्माणका लागि भएको प्रयासका रुपमा बुझ्न आग्रह गरे । ती नेताले भने, ‘उहाँहरू छलफलमा हुनुहुन्छ, छलफलबाटै एउटा निर्णयमा पुग्नुहुन्छ।’
ओलीले दाहालले प्रतिपक्षी दल कांग्रेसको चियापान कार्यक्रमदेखिका सार्वजनिक सम्बोधनमा व्यक्त असन्तुष्टि आफ्ना इच्छा पूरा नहुँदा गरेको निराशाको अभिव्यक्तिका रुपमा अथ्र्याएका थिए ।
दाहालले कांग्रेसको चियापानमा पुगेर दुई तिहाइ ठूलो कुरा नभएको र कांग्रेससँग पनि सहकार्य गरेर अगाडि जान सक्नेदेखि पार्टीभित्र ग्यास्ट्रिक र अल्सरजस्ता रोग लाग्न थालेको सार्वजनिक अभिव्यक्ति दिएका थिए ।
यस्ता अभिव्यक्तिले दुई अध्यक्ष एक–अर्कासँग सशंकित बन्न थालेका छन् । दुई अध्यक्षबीच तिक्तता बढ्न थालेपछि ओलीले शनिबार दाहाललाई छलफलका लागि बालुवाटार बोलाएका थिए ।
तर दाहाल ओलीले बोलाएको समयमा बालुवाटार नगई सपरिवार सिन्धुपाल्चोकको झुले पुगेका थिए। त्यसपछि आइतबार बिहान ओली र दाहालबीच टेलिफोन सम्वाद भएको थियो । सम्वादका क्रममा दाहालले पार्टी स्थायी समिति बैठक र केन्द्रीय समिति बैठक बोलाउन माग गरेको दाहालनिकट नेता बताउँछन् ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here