
बागलुङ, २० असोज ।
बागलुङको सिगानामा जन्मिएका करण केसी नायक बन्दा ओमानमा जारी पाँच राष्ट्रबीचको पाँच देशीय टी–ट्वान्टी क्रिकेट सिरिजमा नेपालले लगातार दोस्रो जित निकालेको छ ।
सोमबार भएको खेलमा नेदरल्याण्डलाई ४ विकेटले पराजित गर्दै नेपालले लगातार दोस्रो जित निकालेको हो ।
अल अम्रेट क्रिकेट मैदानमा नेदरल्याण्डले दिएको १ सय ३४ रनको लक्ष्य नेपालले १९ ओभर ५ बलमा ६ विकेट गुमाएर पुरा गर्यो ।
नेपालको जितमा उत्कृष्ट प्रदर्शन गरेका करण केसीले विस्फोटक ब्याटिङ गर्दै १४ बलमा १ चौका र ३ छक्कासहित अविजित ३१ रन बनाए । यस्तै कप्तान पारस खड्काले टोलीका लािग सर्वाधिक ३३ रन बनाए भने विनोद भण्डारीले २६ रन जोडे ।
नेदरल्यान्ड्सका लागि भान डेर मर्वीले २ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्याण्डले १९ ओभर ३ बलमा अलआउट हुँदै १ सय ३३ रन बनाएको थियो ।
नेदरल्याण्डका लागि प्याट्रिक ओडिडले सर्वाधिक ४३, कोलिन एकेर्मानले २९ र एन्टोनिउस स्कलले २१ रन जोडे ।
नेपालका लागि सन्दीप लामिछानले ४ विकेट लिए । ब्याटिङमा चम्कनु अघि करणले ४ विकेट लिए भने ललित नारायण राजवंशीले १ विकेट लिए । सिरिजमा नेपालले लगातार दुई खेलमा दुई जित निकालेको छ । आइतबार नेपालले हङकङलाई ४ विकेटले हराएको थियो ।
अब नेपालले बुधबार आयरल्याण्डसँग र अन्तिम खेलमा नेपालले ओमानसँग बिहिबार गते खेल्नेछ ।
ओमान क्रिकेटले आयोजना गरेको सिरिजमा नेपाल, आयोजक ओमान, हङकङ, नेदरल्याण्ड र टेष्ट राष्ट्र आयरल्याण्ड रहेका छन् ।









