एकदिवसीय खेलमा नेपालको ऐतिहासिक जित, नेदरल्यान्ड्सविरुद्धको श्रृखंलामा बराबरी

बागलुङ, १८ साउन ।
एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा नेपालले ऐतिहासिक जित हात पारेको छ । एकदिवसीय मान्यता पाएको साढे चार महिनापछि डेब्यू गरेको नेपालले शुक्रबार एकदिवसीय खेलमा पहिलो जित हात पारेको हो ।
नेपालले शुक्रबार भएको दोस्रो एकदिवसीय खेलमा नेदरल्यान्ड्समाथि १ रनको रोमाञ्चक जित हात पारेको हो । नेपालले दिएको २ सय १७ रनको लक्ष्य पछ्यएको नेदरल्यान्ड्सले  अन्तिम बलमा १ सय १५ रनमा अलआउट भयो ।
अन्तिम ओभरमा नेदरल्यान्डलाई जितका लागि ६ रन चाहिएको थियो । अन्तिम ६ बल गर्न नेपालका कप्तान पारस खड्का आएका थिए। सुरुवाती ५ बलमा नेदरल्यान्ड्सले ४ रन लिएपछि जितका लागि अन्तिम बलमा २ रन चाहिएको थियो । तर अन्तिम बलमा  क्लासनलाई परासले रनआउट गरेपछि नेपालले ऐतिहासिक जित हात पारेको हो ।
योसँगै २ खेलको सिरिज १-१ को बराबरीमा सकिएको छ । यसअघि बुधबार भएको पहिलो खेलमा नेदरल्यान्ड्सले नेपाललाई ५५ रनले पराजित गरेको थियो ।
नेदरल्यान्ड्सका लागि वेस्ले बारेसीले सबैभन्दा बढि ७१ रन जोडे । उनलाई दीपेन्द्रसिंह ऐरीले एलबिडब्लूको धरापमा पारेका थिए । यस्तै डेर ब्राकले ३९, बेन कुपरले १९ र कप्तान पिचर सिलारले २१ रन जोडे ।
बलिङमा नेपालका सन्दीप लामिछानेले ३ र ललित भण्डारीले २ विकेट लिए। सोमपाल कामी, पारस खड्का, बसन्त रेग्मी र दीपेन्द्रसिंह ऐरीले १-१ विकेट हात पारे ।

स्कोरकार्ड 

त्यसअघि नेदरल्यान्ड्सको भिआरए मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ४८.५ ओभरमा २ सय १६ रनमा अलआउट भयो ।
नेपालका लागि कप्तान पारस खड्का र सोमपाल कामीले अर्धशतक प्रहार गरे। चौथो नम्बरमा ब्याटिङमा आएका पारसले ३१ ओभरको पहिलो बलमा छक्का प्रहार गरेर अर्धशतक पूरा गरेका थिए । यद्यपी उनी त्यहि ओभरको अन्तिम बलमा ५१ रन बनाएर आउट हुन पुगे । उनले ६९ बल खेल्दा ६ चौका र २ छक्का प्रहार गरे ।
पारसलाई नेदरल्यान्ड्सका कप्तान पिटर सिलारले क्याच आउट गराएका थिए ।एकदिवसीय खेलमा नेपालका लागि अर्धशतक प्रहार गर्ने पारस दोस्रा खेलाडी बनेका छन् । यसअघि पहिलो एकदिवसीय खेलमा उपकप्तान ज्ञानेन्द्र मल्लले अर्धशतक प्रहार गरेर कीर्तिमान बनाएका थिए ।
अाठौं नम्बरमा ब्याटिङमा आएका सोमपालले ४४.४ ओभरमा छक्का अर्धशतक पूरा गरेका थिए । ६१ रनमा आउट हुनुअघि सोमपालले ४६ बलमा ५ चौका र ३ छक्का प्रहार गरे। योसँगै उनी एकदिवसीय खेलमा नेपालका लागि एकै इनिङमा सर्वाधिक रन प्रहार गर्ने खेलाडी बने ।
ओपनिङमा आएका सुवास खकुरेल र मध्यक्रमका ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरीले १९-१९ रनको योगदान गरे । सुवासले ३३ बलमा ३ चौका र दीपेन्द्रले १७ बलमा ३ चौका प्रहार गरेका थिए । दीपेन्द्र कप्तान पारससँगको असमझदारीका कारण रनआउट भएका थिए । ओपनर ज्ञानेन्द्र मल्ल २४ बलमा २ चौकाको मद्दतमा १३ रन प्रहार गरेर आउट भए ।
अनिलकुमार साह ४ रन, रोहितकुमार पौडेल ६ रन र बसन्त रेग्मी १ रनमा आउट भएका थिए । यस्तै आरिफ शेखले ४६ बल खेल्दा १६ रन जोडे । आरिफले बाउन्ड्री भने प्रहार गर्न सकेनन् ।
सन्दीप लामिछानेले ८ रन र ललित भण्डारीले  ४ रन बटुले ।
बलिङमा नेदरल्यान्ड्सका लागि फ्रेड क्लासनले ३ विकेट लिए ।  कप्तान पिटर सीलार र मिचेल रिप्पोनले २-२ विकेट हात पारे ।
ब्याटिङ र बलिङ कार्ड