पर्वतको बाजुङमा पहिरो जाँदा पोखरा–बाग्लुङ सडकखण्ड अवरुद्ध

पर्वत, २८ असार ।
अविरल वर्षासँगै सडक माथिबाट खसेको पहिरोका कारण गए रातिदेखि पोखरा–बाग्लुङ सडकखण्ड अवरुद्ध भएको छ ।
सडकखण्ड अन्तर्गत पर्वतको मोदी गाउँपालिका–५ बाजुङमा पर्ने भ्याप्ले खोला नजिकै माथिबाट लेदो झरेका कारण सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख महेन्द्र रानाभाटले जानकारी दिए । गए राति करिब १० बजेदेखि नै पहिरो खस्न सुरु गरेकाले पोखराबाट पर्वत हुँदै मुस्ताङ, म्याग्दी र बाग्लुङ जाने तथा पर्वत हुँदै पोखरा तथा अन्य लामो तथा छोटो दूरीका सयौं सवारी साधन रातिदेखि नै बीचैमा अलपत्र परेका छन् ।
बाटो खुलाउन रातिदेखि नै डोजर प्रयोग गरिए पनि हिलो र लेदो खस्ने क्रम नरोकिएका कारण अहिलेसम्म पनि बाटो अवरुद्ध नै छ । बाटो खुलाउन डिमुवाबाट रातिदेखि नै प्रहरी खटिए पनि सडक पुनः सञ्चालन हुन सकेको छैन ।
वर्षा सुरु भएसँगै भ्याप्ले खोलामा पहिरो खस्ने गरेका कारण पोखरा–बाग्लुङ सडकखण्ड पटक-पटक अवरुद्ध हुँदै आएको छ । दिउँसोसम्ममा सडक पुनः सञ्चालन हुने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।