प्रदेश ४ को नाम गण्डकी राख्ने नेकपाको निर्णय

44

पोखरा, २० असार ।
प्रदेश ४ को नाम गण्डकी रहने करिब पक्का भएको छ । नेपाल कम्युनिस्ट पार्टीको संसदीय दलको बुधबार बसेको बैठकले प्रदेशको नाम ‘गण्डकी’ राख्ने निर्णय गरेको हो ।
नेकपाले नामको टुंगो नलगाउँदा मंगलबारको बैठक नै स्थगित भएको थियो । नामको टुंगो लगाउन नेकपा पटकपटक बैठक बसे पनि एक मत हुन सकेको थिएन । नेकपाले निर्णय गरेसँगै बिहीबार बस्ने संसद बैठकमा नाम बारे प्रतिवेदन छलफलका लागि पेश हुनेछ । छलफलपछि दुई तिहाई बहुमतले गण्डकी नाम पारित गर्ने पक्काजस्तै भएको छ ।
मंगलबार विशेष प्राविधिक कारण देखाउँदै सूचना टाँस गरेर २१ गते बिहीबार २ बजेसम्मका लागि बैठक स्थगित भएको थियो ।
नेकपाले निर्णय गरेसँगै नयाँशक्ति बाहेक सबै दलले गण्डकीको पक्षमा उभिएका छन् । ५९ जना सांसदको प्रतिनिधित्व गरेको संसदमा नयाँ शक्तिका २ जना सांसद छन् । नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चा गण्डकीकै पक्षमा छन् । नेकपाभित्र भने तमुवान-मगरात, गण्डकी-तमुवान वा गण्डकी भन्ने विषयमा दलभित्रै मत विभाजन थियो ।
नाम के राख्ने भन्ने बारेमा पार्टीभित्रै फरक मत भएकाले बैठकमा नामांकनबारे मंगलबारको बैठकबाट पनि टुंगो लाग्न सकेको थिए । साविक एमालेका सबैजसो सांसदले प्रदेशको नाम गण्डकी हुनुपर्ने पक्षमा भए पनि साविक माओवादी तमुवान-मगरात वा गण्डकी तमुवान राख्ने बताइरहेका थिए । एमाले प्रदेश कमिटीले यसअघि नै प्रदेशको नाम गण्डकी राख्ने भनेर सुझाव दिएको थियो ।
साविक माओवादी केन्द्रका सांसदले भने आफूहरु तमुवान भनेर लड्दै आएका कारण त्यसैअनुसार प्रदेश नामांकन हुनुपर्ने बताउँदै आएको थियो । प्रदेशको राजधानी र नामांकनबारेको समितिले बुझाएको प्रतिवेदन प्रदेश सभामा १० असारमा टेबुल भइसकेको छ । प्रतिवेदनमा क्रमशः गण्डकी, तमुवान-मगराँत, गोरखा र धौलागिरि नााम राख्न सुझाव दिइएको छ ।
प्रदेशका एघारै जिल्ला पुगेर नाम र राजधानी बारे सुझाव संकलन गरी प्रदेश सभामा सुझाव समितिले प्रतिवेदन टेबल गरेको हो । बुधबारसम्म नामको टुंगो लागि सक्ने मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।