सुनकाण्डः बाजेको सेकुवा रेस्टुरेन्टमा शिलबन्दी

40

काठमाडौैं, ३० जेठ ।
सुन तस्करीको पैसा लगानी गरेको भन्दै छानबिन समितिले चेतनाथ (चेतन) भण्डारीद्वारा सञ्चालित बाजेको सेकुवा रेस्टुरेन्टका ६ वटा आउटलेटमा शिलबन्दी गरेको छ ।
अदालतबाट आदेश लिई रेस्टुरेन्टहरुमा शिलबन्दी गरिएको विशेष छानबिन समितिका संयोजक गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेलले बताए ।
‘उपत्यकामा बाजेको सेकुवाका १० वटा शाखा भेटिए,’ सहसचिव पौडेलले भने, ‘त्यसमध्ये ६ वटामा शिलबन्दी गर्दैछौं, अन्य शाखाको हकमा थप छानबिन हुन्छ ।’
रेस्टुरेन्टका सञ्चालक भण्डारीले सुन तस्करीका नाइके चूडामणि उप्रेती ‘गोरे’सँग मिलेर तस्करीमा लगानी गरेको खुलेको थियो। उनको बैंक खाता तथा घरजग्गा यसअघि नै रोक्का भइसकेको छ। भण्डारी भने फरार छन् ।
उनीमाथि सम्पत्ति शुद्धीकरणमा मुद्दामा पनि अनुसन्धान हुने समितिले जनाएको छ ।