सदरमुकाम क्षेत्रमा वितरण हुँदै आएको खानेपानीमा भेटियो कोलिफर्म

51

डडेल्धुरा, ३० जेठ  ।
जिल्ला सदरमुकामको खानेपानीमा दिसामा हुने किटाणु कोलिफर्म भेटिएको छ । खलंगा खानेपानी उपभोक्ता तथा सरसफाइ समितिबाट सदरमुकाम क्षेत्रमा वितरण हुँदै आएको खानेपानीमा कोलिफर्म भेटिएको जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले जनाएको हो ।
खलंगा खानेपानीको मुहान खुल्ला रुपमा खोला नै भएकाले मानिसलगायत घरपालुवा तथा जंगली जनावरले दिसापिसाब गर्नाका साथै रूखका पात, झारहरु खस्ने र सुकेर कुहिएपछि त्यसबाट पनि कोलिफर्म कीटाणु उत्पादन हुने भएकाले पानी फिल्टर गर्दा कोलिफर्म भेटिएको डिभिजन प्रमुख राजकुमार शाक्यले बताए ।
पहाडी जिल्लामा तातो र रातो रगत हुने प्राणीहरुको दिसाबाट निस्कने कीटाणु कोलिफर्म हुने र यसबाट पखाला, आउँ, हैजाजस्ता महामारी फैलिने उनले जानकारी दिए । कार्यालयसँग भएको पानी फिल्टर गर्ने उपकरण डेल एक्वाकिटमा सय मिलिटिर पानी राखेर जाँच गरी फिल्टर गर्दा कोलिफर्मको झुण्ड देखिएको उक्त कार्यालयले जनाएको थियो । रासस