जसले त्यागे प्रेम पाउन जमिनदारी

53

बागलुङ, २ फागुन ।
जर्मन तानाशाह हिटलर भन्थे, ‘प्रेम होइन, युद्ध गर्नुस् । किनभने, युद्धमा तपाईं कि मर्नुहुन्छ कि बाँच्नुहुन्छ । तर, प्रेममा तपाईं न बाँच्नुहुन्छ, न मर्नुहुन्छ।’सत्यनारायण दास यादवले प्रेम गरे । र, प्रेम गरेको ‘अपराध’ मा जीवनभर ‘मर्नु न बाँच्नु’को स्थिति झेलिरहे ।
धनाढ्य जमिनदारको छोरा सत्यनारायण एक मुस्लिम युवती रसुलियाको प्रेममा परे । ०३१-३२ सालतिर नेपालमा उनको प्रेम दुस्साहस थियो । तर हैसियत, जात, धर्म सबै पर्खाल नाघेर उनको प्रेमले विद्रोह गर्‍यो ।
जमिनदारी प्रथाबारे सिरहातिर आज पनि अनेक कहावत छन् । जमिनदारहरू हजारौं बिघा जमिनका मालिक थिए। हात्ती पाल्थे। घरमा सयौं नोकरचाकर हुन्थे । यस्तो पनि भनिन्थ्यो कि गाउँमा नयाँ बुहारी भित्र्याउँदा पहिलो रात जमिनदारलाई सुम्पनुपर्थ्यो । सात खुन माफ थियो जमिनदारका लागि । कानुन उनीहरूकै मुठीमा थियो ।
सत्यनारायण दास यादवको परिवार पनि जमिनदार थियो। उनले आफ्नै घरमा काम गर्न आउने एकजना गरिब मुस्लिम युवतीलाई प्रेम गरे । र, त्यसैको सजायबापत महिनौं जन्जिरमा बाँधिए। घरबाट निकालिए । फुटपाथमा पुगे । जिन्दगीभर अभाव झेले । त्यो दुःखको सिलसिलाले आज ६३ वर्षको उमेरसम्म उनलाई पछ्याइरहेको छ ।
माघ अन्तिम साता काठमाडौं, बानेश्वरको अँध्यारो डेरामा भेट्दा उनी एक्लै धुम्धुम्ती बसिरहेका थिए। भर्खरै नबाज पढेर सकाएका थिए । गोजीमा राखेका थिए सेतो टोपी । खरानी रङको खास्टो गम्लङ्ङ ओडेका थिए। सेतै फुलेको थियो कपाल । माघको मधुरो घाम मुस्किलले छिर्दै थियो कोठामा ।
पटक-पटक ताकेता गरियो तर सुरुमा उनले आफ्नो प्रेम-इतिहास खोल्न चाहेनन् । आफ्नै छोराको अघि प्रेममय दिनहरूको खुला बयान गर्न धक थियो। सायद छोराले कुरा बुझे, बाहिरिए ।, यो खबर आजको अन्नपुर्ण पोष्टमा राजु स्याङ्तानले लेखेका छन् ।