पर्यटकको पर्खाईमा गल्कोटको सहस्त्र झरना (हेर्नुहोस् ९ तस्विर)

बागलुङ, २९ माघ
बागलुङकै सुन्दर झरना मध्येको गलकोटको सहस्त्र झरना ओझेलमा परेको छ । प्रचारप्रसार र पूर्वाधार विकासमा ध्यान नदिँदा गलकोट नगरपालिका–३ हटियाको बोहोराफाँट र स्यालाको सिमनामा रहेको सहस्त्र झरनाबारे धेरैलाई जानकारी छैन । पहाडको कापबाट अटुट रूपमा सङ्लो पानी झरिरहने निकै चित्ताकर्षक छ, सहस्त्र झरना ।
करिब २ सय मिटर अग्लो चट्टानी कापबाट पानी तीव्र गतिमा तल झरेको छ । यद्यपि आधिकारिक रूपमा यसको उचाइ मापन गरिएको छैन । तलबाट हेर्दा आकासबाटै पानी झरेजस्तो देखिन्छ । धेरैबेर बस्ने हो भने झरनाबाट फरक–फरक आवाज सुनिन्छ ।
वरपर खासै बस्ती नभएका कारण पनि झरना ओझेलमा परेको गलकोट नगरपालिका–३ का वाड अध्यक्ष बिरजङ भण्डारीले बताउनुभयो । नजिकै बोहोराफाँट र स्याला गाउँ छ । त्यहाँका स्थानीयले यस झरनालाई शक्तिको प्रतीक मान्ने गरेका छन् ।
झरनाको फेदीमा झाँत्रीको पुजा गरिन्छ । उक्त ठाउँमा आसपास गाउँका मानिस गएर पूजा गर्छन् । मन्दिर नजिकै पौवा निर्माण गरिएको छ । झरनाको पानी बगेर दरमखोलामा मिसिन्छ ।
छिमेकी गाउँ बोहोराफाँट, स्यालासँगै अन्य ठाउबाट पनि झरनाको अवलोकन गर्न सकिन्छ । गलकोटको हटिया बजारबाट झरनास्थल पुग्न पैदल रुपमा ४५ मिनेट लाग्छ । स्थानीय स्तरबाटै झरनालाई धार्मिक तथा पर्यटकीय स्थलको रूपमा विकास गरिनुपर्ने स्थानीयको माग छ ।
प्राकृतिक सुन्दरताले भरिपूर्ण पर्यटकीय र धार्मिक महत्व बोकेको झरनाको प्रचारप्रसार गरी आन्तरिक तथा बाह्य पर्यटक बढाउन सकिने वाड अध्यक्ष बिरजङ भण्डारीले बताउनुभयो । उहाँले उक्त झरनामा १ लाखको लागतमा क्यानबिइनिङ खेलका लागि सर्वे गरिने बताउनुभयो ।
जैविक विविधताले भरिपूर्ण यस स्थानबाट विविध प्राकृतिक सौन्दर्यको अवलोकन गर्न सकिने वाड सदस्य झहरबहादुर खत्रीले बताउनुभयो । झरना वरिपरि विभिन्न प्रजातिका रुखबिरुवा रहेका छन् । झरनाको वरपर अग्गा अग्गा भिर भएका कारण उक्त ठाउँमा पर्यटनको सम्भावना प्रवल रहेको स्थानीय रबिन बोहोराले बताउनुभयो ।
झरनासम्म जाने बाटोको स्तरोन्नती तथा आवश्यक प्रचारप्रसार नहुँदा झरनाको महत्व कम भएको बोहोराले जानकारी दिनुभयो । गलकोट नगरपालिका वाड नम्बर ३ ले झरनासम्म पुग्नका लागि पदमार्ग निर्माण गर्ने जनाएको छ । पदमार्गसँगै यस बाहेक त्यस क्षेत्रमा सुविधा सम्पन्न होटल, ठाउँठाउँमा चौतारा, सूचना केन्द्र स्थापना गर्न जरुरी छ । वाडसँगै गलकोट नगरपालिकाको समृद्धि झरनाले गराउने हुँदा गुरुयोजना बनाएर तत्काल काम सुरु गर्नुपर्ने वाड अध्यक्ष भण्डारीको भनाई छ ।
उक्त झरनामा चट्टान भित्रबाट पानी खसेको छ । झरनाको बायाँ भागमा रहेको चट्टानबाट करिब २ सय भन्दा बढि धाराहरु निरन्तर रुपमा झर्ने गरेको छ । वर्ष भरि निरन्तर रुपमा झरनामा पानी बग्ने गरेका कारण झरनामा पर्यटनको आकर्षण बढ्ने स्थानीयले अनुमान गरेका छन् ।

शब्द/तस्विरः गुमानसिंह भण्डारी