प्रदेश प्रमुख र सभामुखमा एमाले माओवादीबीच सहमति

44

काठमाडौं, १४ माघ ।
नेकपा एमालेले ४ र माओवादी केन्द्रले २ वटा प्रदेशमा प्रदेश सरकार बनाउने पक्का गरेका छन् । आइतबार बसेको माओवादी र एमालेको कार्यदल बैठकले प्रदेश नम्बर १, ३, ४ र ५ मा एमालेको नेतृत्वमा सरकार बनाउने तथा प्रदेश नम्बर ६ र ७ मा माआवादीको नेतृत्वमा सरकार बनाउने निर्णय गरेको एमाले नेता सुवासचन्द्र नेम्वाङले जानकारी दिनुभयो ।
यस्तै एमालेले प्रदेश नम्बर १, प्रदेश नम्बर ३, प्रदेश नम्बर ६ र प्रदेश नम्बर ७ मा सभामुख पाउने भएको छ । माओवादीले भने प्रदेश नम्बर ४ र प्रदेश नम्बर ५ मा सभामुख पाउने भएको छ । यस्तै माओवादीले प्रदेश १, ३, ६ र ७ मा उपसभामुख पाउनेछ भने एमालेले ४ र ५ नम्बर प्रदेशमा मात्रै उपसभामुख पाउने भएको छ ।
यस्तै मुख्यमन्त्री बाहेकका मन्त्रीहरुको बाँडफाड गर्दा एमालेले ७० प्रतिशत र माओवादीलाई ३० प्रतिशत मन्त्री दिइने पनि सहमती भएको छ । यस्तै मन्त्रीहरुको संख्या प्रदेशसभाका सांसदको ७ देखि ११ प्रशितसम्म बनाउन सकिने पनि कार्यदलले निर्णय  गरेको छ ।
दुइवटा पार्टीका अध्यक्ष दिएका सबै जिम्मेवारी  तथा बाँडफाँड आफूहरुले टुंगो लगाएको पनि नेता नेम्वाङले जानकारी दिनुभयो ।