सर्वोच्चको आदेशपछि प्रकाउ परे डा केसी

काठमाडौं, २४ पुस
डा गोविन्द केसीलाई अदालतको अपहेलना मुद्दामा प्रहरीले पक्राउ गरी महानगरीय प्रहरी परिसर टेकु पुर्‍याएको छ । एसपी रामदत्त जोशीको टोलीले उनलाई पक्राउ गरेको हो ।
प्रहरीले पक्राउ पुर्जी थमाएपछि त्यसमा हस्ताक्षर गरेर डा केसी सजिलै प्रहरी कार्यालय जान तयार भए । पक्राउ गर्ने क्रममा उनले भने, ‘अदालतको फैसलालाई मान्दिनँ, तर तपाईंहरुको (प्रहरी)को कानुनी प्रक्रियालाई सम्मान गर्छु ।’
उनलाई बा १ झ ७२६६ नम्बरको प्रहरी अस्पतालको एम्बुलेन्समा राखेर प्रहरी कार्यालय लगिएको हो । डा केसीलाई पक्राउ गर्न काठमाडौं परिसरका एसपी जोशीको कमाण्डमा ठूलो संख्यामा प्रहरी शिक्षण अस्पताल महाराजगञ्ज पुगेको थियो ।
आइओएमको डीन पुनर्वहाली सम्बन्धी मुद्दामा डा केसीले दिएको अभिव्यक्तिले अदालतको अवहेलना गरेको भन्दै सोमबार अदालतले उनलाई पक्राउ गरी मंगलबार अदालतमा उपस्थित गराउन आदेश दिएको थियो ।
डा केसीलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राख्ने तयारी छ। केसीले हिरासतमै अनसन बस्ने बताएका छन् ।