
शुभनारायण यादव
सप्तरी, ३ पुस ।
सप्तरीसहित तराई मधेशका जिल्लाहरुमा एकाएक बढेको अत्यधिक चिसोका कारणले सप्तरीमा कठयाङ्ग्रिएर एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नम्बर १ की ९६ वर्षीया रिजयादेवी राय रहेको परिवारजनले बताएका छन् । रायको आफ्नै घरमा कठयाङ्ग्रिएर मृत्यु भएको उनका पति कमल रायले जानकारी दिनुभयो ।
यता अत्यधिक चिसोका कारण बालबालिका तथा वृद्धवृद्धाहरु बढी प्रभावित भएका छन् । चिसोकाकारण बालबालिका तथा वृद्धवृद्धाहरु धमाधम बिरामी पर्न थालेपछि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा बिरामीको चाप बढ्न थालेको अस्पतालले जनाएको छ ।
हाल सो अस्पतालमा बालबालिकाहरुमा कोल्ड डाईरीया, भाइरल फिबर जस्ता रोगहरु देखिएका छन् भने वृद्धवृद्धाहरु दमको रोगका कारण बढी पीडित भएका छन् ।
सप्तरी सदरमुकाम राजविराजबाहेक जिल्लाको कञ्चनपुर, हनुमान नगर, कल्याणपुर, भारदह, तोपास्थितका प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी तथा निजी अस्पतालहरुमा समेत ठण्डीले सिकिस्त भई उपचार गराउन आउनेहरुको संख्यामा वृद्धि भईरहेको छ ।
एका बिहानैदेखिको बाक्लो हुस्सु तथा शितलहरका कारण बढेको चिसोले यहाँको जनजीवन कष्टकर बनेको हो । रातिदेखि बढ्ने हावाका कारण बिहानदेखि लाग्ने गरेको बाक्लो हुस्सुले सर्वसाधारणलाई घरबाट बाहिर निस्कन समेत कठिनाई भईरहेको छ ।
सदरमुकाम राजविराजसहित जिल्लाका अन्य बजार क्षेत्रमा व्यवसाय सञ्चालन गरेका व्यापारीहरु चिसोका कारण दिनभरी आगो ताप्नमा व्यस्त देखिन्छन् ।









