म्यानमारविरुद्ध नेपालको ३३७ रनको फराकिलो जित

बागलुङ, २८ मंसिर
नेपालले थाइल्यान्डमा जारी एसिसी यू १६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिता समूह चरणको अन्तिम खेलमा उत्कृष्ट जित हासिल पगरेको छ ।
समुह चरणको अन्तिम खेलमा म्यानमार विरुद्ध नेपालले व्याटिङ्ग तथा बलिङ दुवैमा उत्कृष्ट प्रदर्शन गर्दै जित निकालेको हो ।
पहिले व्याटिङ गरेर ३ सय ५१ रनको लक्ष्य प्रस्तुत गरेको नेपालले बलिङमा म्यानमारलाई १३ रनमा समेटदै जित हासिल गरेको हो ।
नेपालको जितको लागि नारान जोशिले ४, मेख बहादुर रोकाले ४ ओभरमा ३ रन लिदै ४ विकेट र विक्रम केसीले २ विकेट लिएका थिए । म्यानमारका कुनै पनि खेलाडीले दोहोरो अंक बनाउन सकेनन् ।
पहिले व्याटिङ गरेको नेपालले कप्तान रित गौतमले अविजित शतक बनाएपछि नेपालले ३५ ओभरमा ६ विकेट गुमाएर ३ सय ५० रन बनाएको थियो ।
अघिल्ला दुई खेलबाटै सेमिफाइनल पुगिसकेको नेपालका लागि आजको खेल सेमिफाइनलको तयारीका रुपमा पनि लिन सकिन्छ । माथिल्लो क्रममा ब्याट्सम्यानले उच्च प्रदर्शन गरेपछि नेपालले ३ सय माथि रन जोडेको थियो । पाँचौं विकेटका लागि कप्तान रित र त्रितराज दासले ९९ रनको ठूलो साझेदारी गरेका थिए । ७८ बल खेलेका रितले १२ चौका साथ अविजित १ सय ६ रन जोडे ।
त्रितले पनि अर्धशतक पुरा गरे । मात्र २९ बल खेलेका त्रितराजले ७ चौका र ३ छक्काको मद्दतमा ६४ रन बनाएका थिए । विशाल विक्रम केसीले ४२ बलमा ७ चौकासहित ४२, ओपनर कुशल मल्लले २३ बलमा ३ चौका र त्यत्तिनै छक्कामा ३६ रन तथा सुवास ऐरले १७ रन जोडेका थिए ।
नेपालले आयोजक थाइल्यान्डलाई पहिलो खेलमा १ सय ३३ रनले हराएको नेपालले अर्को हङकङलाई ४ विकेटले हराएको थियो ।