११ क्षेत्रको अन्तिम नतिजा सार्वजनिक, ९ स्थानमा बाम गठबन्धन विजयी

काठमाडौं, २२ मंसिर
मंसिर १० गते भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा ११:३० सम्म ११ क्षेत्रको मतपरिणाम घोषणा भएको छ। जसमा वाम गठवन्धनले ९ सिट जितेका छन् ।
प्रतिनिधिसभामा वामका ३ उम्मेदवार विजयी भएका छन् । मनाङमा एमालेका पाल्तेन छेवाङ गुरुङ, मुस्ताङमा प्रेम तुलाचन प्रतिनिधिसभामा विजयी भएका छन् । रुकुमपूर्वमा माओवादीकी कमला रोका विजयी भइन् ।

प्रदेशसभामा कसको कति ?
हालसम्मको परिणाम अनुसार प्रदेशसभातर्फ ८ स्थानमा अन्तिम परिणाम सार्वजनिक भएको छ । प्रदेशसभामा एमाले ४, माओवादी २,कांग्रेस १ र स्वतन्त्र १ सिट जितेका छन् ।
प्रदेशसभामा मुस्ताङका क र ख दुवै क्षेत्र एमालेले जितेको छ । मुस्ताङको प्रदेशसभा (क) मा एमालेकै इन्द्रडादु विष्ट, प्रदेश सभा (ख) मा महेन्द्रप्रसाद थकाली विजयी भएका छन् । हुम्ला क मा दलबहादुर रावल विजयी भएका छन् भने डोल्पा क मा एमालेकै नन्दसिंह बुढा विजयी भएका छन् ।
नेपाली कांग्रेसबाट मनाङ क मा चिन्तबहादुर घले विजयी भएकी छन्। मनाङ ख मा स्वतन्त्र उम्मेदवार राजीव गुरुङ तर्फ दीपक मनाङ्गे विजयी भए ।
पूर्व रुकुमका दुवै प्रदेशमा माओवादीले जित हात पारेको छ । क मा तेजबहादुर ओली र ख मा पूर्णबहादुर घर्ती विजयी भएका छन् ।

अग्रता कहाँ कसको?
नेकपा एमालेले १६ स्थानमा अग्रता लिएको छ ।
एमालेले ताप्लेजुङ, बैतडी, बझाङ, मुगु, म्याग्दी, दार्चुला, ओखलढुंगा, धादिङ १ र २, नुवाकोट, दोलखा, पाँचथर, सिन्धुपाल्चोक २ , ललितपुर २, डोल्पा र बाग्लुङ १ मा अग्रता लिएको छ।
त्यस्तै माओवादी केन्द्र १३ स्थानमा आगाडि रहेको छ । माओवादीले रुकुम पश्चिम, रोल्पा, जाजरकोट, सिन्धुपाल्चोक १, कालीकोट, गोरखा १, नुवाकोट २, सोलुखुम्बु, भोजपुर, जुम्ला, रामेछाप, लमजुङ र बाग्लुङ २ मा अग्रता लिएको छ ।
नेपाली कांग्रेस ५ स्थानमा अगाडि रहेको छ । रसुवा, संखुवासभा, बाजुरा, ललितपुर ३ र हुम्लामा कांग्रेस अगाडि छ ।
नयाँ शक्ति पार्टी भने हालसम्म गोरखा २ मा मात्र अगाडि देखिएको छ । जारी मतगणनामा नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईले माओवादीका नारायणकाजी श्रेष्ठलाई पछाडि पारिरहेका छन् ।