दोस्रो चरणको निर्वाचनको मतदान सुरू, ४४८२ उम्मेद्वार मैदानमा

काठमाडौं, २१ मंसिर ।
४५ जिल्लामा प्रदेश र प्रतिनिधिसभाको दोस्रो चरणको निर्वाचन सुरू भएको छ । पहिलो चरणको निर्वाचन यही मंसिर १० गते ३२ जिल्लामा भएको थियो ।
आज प्रदेश नं. १ का इलाम, तेह्रथुम, धनकुटा, उदयपुर, झापा, मोरङ र सुनसरीमा मतदान भइरहेको छ ।
यसैगरी प्रदेश नं. २ का सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा र रौतहटमा मतदान भइरहेकाे छ ।
प्रदेश नं. ३ का सिन्धुली, मकवानपुर, चितवन, काभ्रेपलाञ्चोक, काठमाडौँ, ललितपुर र भक्तपुर, प्रदेश नं ४ का नवलपरासी (बर्दघाट सुस्ता पूर्व) तनँहु, कास्की, स्याङ्जा र पर्वतमा पनि मतदान शुरु भएको छ ।
प्रदेश नं. ५ का नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), पाल्पा, अर्घाखाँची, गुल्मी, रुपन्देही, कपिलवस्तु, दाङ, प्यूठान बाँके र बर्दिया, प्रदेश नं ६ का सल्यान, सुर्खेत र दैलेख तथा प्रदेश नं ७ का कैलाली, कञ्चनपुर, डडेल्धुरा, अछाम र डोटीमा पनि मतदान सुरू भएको छ ।

४ हजार ४८२ उम्मेदवार प्रतिस्पर्धामा
४५ जिल्लामा प्रतिनिधिसभाका १२८ र प्रदेशसभाका २५६ निर्वाचन क्षेत्रमा निर्वाचन हुन लागेको हो । प्रत्यक्ष निर्वाचनतर्फ प्रतिनिधिसभाका लागि एक हजार ६६३ र प्रदेशसभाका लागि २ हजार ८१९ गरी कुल ४ हजार ४८२ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।
यसैगरी, समानुपातिक निर्वाचनतर्फ प्रतिनिधिसभाका ११० र प्रदेशसभाका २२० पदमा पाँच हजार ८३८ उम्मेदवार छन् ।
ती निर्वाचन क्षेत्र राखिएका सात हजार ७५२ मतदानस्थल र १५ हजार ३४४ मतदान केन्द्रबाट एक करोड २२ लाख ३५ हजार ९९३ मतदाताले आफ्नो मताधिकारको प्रयोग गर्ने छन् ।
पहिलो चरणको निर्वाचन मंसिर १० मा सम्पन्न भइसकेको छ । पहिलो चरणको निर्वाचनमा करिब ६५ प्रतिशत खसेको थियो । दोस्रो चरणमा ७५ प्रतिशतभन्दा माथि मत खस्ने प्रमुख आयुक्त डा. अयोधी प्रसाद यादवले अनुमान गरे ।
दोस्रो चरणको निर्वाचन सकिएलगत्तै मतगणना सुरु गर्ने तयारी निर्वाचन आयोगको छ । यही मंसिर १० गते पहिलो चरणमा भएको निर्वाचनको मतगणना पनि दोस्रो चरणको चुनाव सकिएलगत्तै सुरु हुनेछ । त्यसका लागि मतगणना स्थलमा सीसी टीभी क्यामरा जडान गरिएको छ भने तार जालीको बार समेत लगाइएको छ ।