
आजभोलिको दौडधुपपूर्ण जीवनमा तनावको समस्याले प्राय: सबैलाई पिरोलिरहेको हुन्छ । तनाव विभिन्न कारणले हुन सक्छ र यसका समाधानका उपायहरु पनि छन् । तनाव कम गर्न काजुको नियमित सेवन लाभदायक हुन सक्छ । काजुमा भिटामिन बी प्रचुर पाइन्छ, जसले शरीरको क्षमता बढाउँछ । यसलाई मुड बनाउने खाद्यपदार्थ पनि भनिन्छ ।
किन हुन्छ डिप्रेसन ?
कुनै पनि काममा मन नलाग्नु, कुनै पनि कुराले खुसी नहुनु र दुःखको अनुभूति पनि नहुनु डिप्रेसनको लक्षण हो । डिप्रेसन मानसिक स्वास्थ्यका लागि हानिकारक मानिन्छ । यस्तो अवस्थामा मनमा अनौठा विचार आउँछन् । कुनै पनि कुराले मानिस हडबडाउने गर्छन् । डिप्रेसन र डाइबिटिज रोगबाट पीडित मानिसमा मुटु रोग, अन्धोपन र मष्तिष्कसँग सम्बन्धी रोग हुने सम्भावना हुन्छ ।
काजुले हटाउँछ डिप्रेसन
काजुको सेवन प्राकृतिक रुपले डिप्रेसनको उपचार हो । काजुमा पाइने म्याग्नेसियमले शरीरमा सेरोटोनिनको स्तर बढाउँन मद्दत गर्छ । सेरोटोनिनलाई खुसी राख्ने रसायन भनिन्छ । यसका अलावा यो प्रोटिनको पनि राम्रो स्रोत हो । यसमा पाइने कपरले शरीरमा इन्जायमको गतिविधि, हर्मोनको उत्पादन, मस्तिष्कको काममा सघाउँछ ।
काजुमा एक प्रकारको तेल हुन्छ, यो भिटामिन बीको राम्रो स्रोत हो । यसै कारण यसलाई तत्काल शक्तिदायक खाद्यपदार्थ मानिन्छ । खाली पेटमा महका साथमा काजु खाएमा स्मरणशक्ति बढ्छ ।
काजुका अन्य फाइदा
काजुमा मोनो स्याचुरेटेड फ्याट हुन्छ, जसले मुटुलाई स्वस्थ राख्छ र मुटुरोग लाग्ने सम्भावना कम हुन्छ । यो कोलेस्टेरोलरहित हुन्छ । छालाका लागि पनि काजुलाई दूधमा रगडेर लगाउँदा सुन्दर र नरम हुन्छ । काजुको नियमित सेवनले कपाल झर्नबाट रोक्छ । यसमा सोडियम कम र पोटासियम बढी हुन्छ, जसले रक्तचाप पनि कम गर्छ ।
काजुमा एन्टी अक्सिडेन्ट, जस्तै: भिटामिन इ र सेलनियमन पनि पाइन्छ, जसले क्यान्सरबाट बचाउँछ । यसमा हुने जिंकले संक्रमण विरुद्ध लड्न मद्दत गर्छ ।
२०७४ कार्तिक ४ गते प्रकाशित









