बागलुङमा ३२ मेट्रिकटन मह उत्पादन, करिव डेढ करोडको कारोवार

बिक्रम सुनार
बागलुङ,२४ साउन ।
बागलुङ जिल्लामा यस वर्ष ३२ मेट्रिक टन मह उत्पादन भएको छ । भने २ करोड ५० लाख बढिको कारोवार गरेको छ । जिल्ला कृषि विकास कार्यालय बागलुङले ग्रामिण स्तरमा पनि मौरी पालन र उत्पादन सम्वन्धी तालिम दिएपछि उत्पादनमा वृद्धि भएको हो ।

तालिमा प्रदान संगै व्यावसायिक मौरीपालन बढेसँगै मह उत्पादनमा वृद्धि भएको बताइएको छ । बागलुङ प्राकृतिक रुपमा बनजंगल प्रशस्त, मौरीको लागि अनुकुल बातावरण भएकाले पनि जिल्लामा मह उत्पादनमा वृद्धि भएको कृषि प्रसार अधिकृत विप्लव अधिकारीले बताउनुभयो ।
प्रतिकिलो एक हजार देखि १५ सय सम्म मह बिक्री हुने गरेको र एक किसानले वार्षिक रुपमा ३ देखि ५ लाख सम्म आम्दानी गर्ने जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।
बागलुङमा विशेष गरि दगातुन डाडा, जैदी महको पकेट क्षेत्र मानिन्छ । त्यो बाहेक जिल्लाको साविकको सिगाना गाविस, छिस्ती, रेश, अमलाचौर, बुर्तिवाङमा पनि व्यवायिक रुपमा मह उत्पादन गर्दै आएका छन ।
यस वर्ष ५० प्रतिशत अनुदान सहित कृषि कार्यालयले ४ हजार उन्नत जातको मौरी घार वितरण गरेको जनाएको छ भने करिव १५ सय मुढेघारमा पनि मौरी पाल्दै आएका छन । आगामी आर्थिक वर्षमा पनि जिल्लाका विभिन्न स्थानहरुमा मौरी उपकरणहरु वितरण तालिम संचालन लगायतको अभियान संचालन गरि मौरी पालन र मह उत्पादनमा अझै वृद्धि गर्नेे कृषि प्रसार अधिकृत अधिकारीले बताउनुभयो ।

साथै बागलुङले राम्रो मह उत्पादन गरेको भन्दै राष्ट्रिय पुरस्कार समेत पाएको छ । गत आर्थिक वर्षमा जिल्लाका २० जना व्यावसायिक मौरीपालक किसानले एक लाख ८० हजारका दरले सरकारी अनुदान पाएका थिए ।
बागलुङमा ६ हजार भन्दा बढि घारमा मह उत्पादन भएको छ भने उत्पादित मह जिल्लाभित्रै खपत हुने गरेको छ । पछिल्लो समयमा जिल्लाका अधिकांश व्यक्ति कुनै न कुनै व्यवसायमा आवद्ध भई जिविकोपार्जन गरिहेका छन ।