
बागलुङ, २० साउन
बागलुङको पश्चिम क्षेत्रमा गएको छुट्टाछुट्टै पहिरोमा परि ६ जनाको ज्यान गएको छ ।
पहिरोमा परी एकै परिवारका चार सहित ६ जनाको ज्यान गएको हो । पहिरोले घर बगाउँदा निसीखोला गाउँपालिका– २ बाउनगाउँ (साविकको देविस्थान गाविस–६) का ६८ वर्षिय मनिराम छन्त्याल, उनकी श्रीमति ६३ वर्षीया नन्दकली छन्त्याल, बुहारी २२ वर्षीय बिन्दु छन्त्याल र १८ वर्षीय छोरी गिता छन्त्याल मृत्यु भएको प्रहरी नायव उपरिक्षक अनिल खडकाले जानकारी दिनुभयो ।
मृतक छन्त्यालका दुई छोरा र तीन छोरी रहेका थिए । दुवै छोरा रोजगारीको लागि एक वर्ष अगाडी दुवईमा रहेका छन भने दुई छोरी बूर्तिवाङ्ग बजारमा अध्ययनको लागि डेरा गरी बस्ने भएकाले पहिरोबाट जोखिएको प्रहरी चौकी झिवाखोलाका प्रहरी नायव निरिक्षक निरबहादुर वैद्यवरले जानकारी दिनुभयो । पहिरोमा परी कान्छा छोरा रेशमबहादुर छन्त्यालकी २२ वर्षिय श्रीमती विन्दु छन्त्यालको ज्यान गएको थियो ।
पहिरो शुक्रबार विहान करिब ५ बजेको समयमा गएको थियो । विहान सुतेकै अवस्थामा पहिरो गएकाले घरभित्र रहेका सदस्य भाग्न नसकेको प्रहरीको भनाई छ । घटना भएको करिव एक घन्टा पछि प्रहरीलाई जानकारी प्राप्त भएको थियो । प्रहरी चौकी झिवाखोलादेखि करिब ९ किलोमिटर पूर्वतिर पर्ने घटना स्थलमा प्रहरी दुई घन्टा पैदल यात्रा दुरी पछि उद्धारको पुगको थियो । सोही स्थानमा बसोबास गर्ने देवबहादुर विकको परिवार सुरक्षीत स्थानमा सरेका छन । पहिरोको थप जोखिम नभएको सई वैद्यवारको भनाई छ । घटना स्थल पुग्न जिल्ला सदरमुकाम बागलुङ बजारदेखि एक दिन सवारी यात्रा गर्नुपर्ने हुन्छ ।
त्यस्तै ढोरपाटन नगरपालिका– ५ पाखापानी (साविकको अधिकारीचौर गाविस) का ५३ वर्षीय ओमप्रकाश विकको घरमाथिबाट आएकाले पहिराले घर पुरिँदा विकको ज्यान गएको हो । सोही घरमा बस्दै आएका विकका श्रीमती सहित तीन जना छोरीको भने स्थानीयले सकुशल उद्धार गरेको प्रहरीले जनाएको छ ।
पहिरो बगिरहेको अवस्थामा घर बाहिरा निस्केका विक घरभित्र रहेको सामान झिक्न जाँदा पहिरोले पुरेको स्थानीयले बताएका छन् । उता निसीखोला गाउँपालिका–१ हुल्दी (साविकको देविसथान–५) की ७० वर्षिय खगिसरा सिञ्जालीको पहिरोका कारण मृत्यु भएको प्रहरीले जनाएको छ ।









