
नवीन शिशिर/खबरवे अनलाईन
बागलुङ, २० साउन ।
बागलुङको पश्चिम अधिकारीचौर र देविस्थानमा गएको पहिरोले दुई घर पुरिँदा एकै परिवारका दुई सहित तीन जनाको ज्यान गएको छ भने तीन जना वेपत्ता भएका छन् ।
पहिरोले घर बगाउँदा निसीखोला गाउँपालिका– २ बाउनगाउँ (साविकको देविस्थान गाविस–६) का ६८ वर्षिय मनिराम छन्त्यालकी श्रीमति ६३ वर्षीया नन्दकली छन्त्याल, बुहारी २२ वर्षीय बिन्दु छन्त्यालको मृत्यु भएको छ भने १८ वर्षीय छोरी गिता छन्त्याल र मनिराम छन्त्याल बेपत्ता भएको प्रहरी नायव उपरिक्षक अनिल खडकाले जानकारी दिए ।
पहिरोमा पुरिएका उनीहरुको इलाका प्रहरी कार्यालय झिवाखोलाबाट गएको प्रहरी टोली र स्थानीयले खोजी कार्य जारी राखेका छन् ।
त्यस्तै ढोरपाटन नगरपालिका– ५ पाखापानी (साविकको अधिकारीचौर गाविस) का ५३ वर्षीय ओमप्रकाश विकको घरमाथिबाट आएकाले पहिराले घर पुरिँदा विकको ज्यान गएको हो । सोही घरमा बस्दै आएका विकका श्रीमती सहित तीन जना छोरीको भने स्थानीयले सकुशल उद्धार गरेको प्रहरीले जनाएको छ ।
पहिरो बगिरहेको अवस्थामा घर बाहिरा निस्केका विक घरभित्र रहेको सामान झिक्न जाँदा पहिरोले पुरेको स्थानीयले बताएका छन । उता निसीखोला गाउँपालिका–१ हुल्दी (साविकको देविसथान–५) का लालबहादुर सिञ्जालीको घर पहिरोले बगाउँदा सिञ्जाली आमा वेपत्ता भएको प्रहरीले जानकारी दिएको छ ।









